माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

काँक्रेविहार । मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ । अर्धजलाशय प्रकृतिको सो आयोजना ३०६ मेगावाट क्षमताको हो ।

एलिभेट इनर्जीले निर्माण गर्न लागेको सो आयोजनाको उत्पादन अनुमतिपत्रको प्रक्रिया अगाडि बढाइएको छ । कम्पनीले २०७७ सालमा आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको थियो । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा आयोजना सम्भाव्यता अध्ययन प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

आयोजनाबाट वार्षिक सरदर एक हजार ६२९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविन अर्यालले सम्भाव्यता अध्ययनको पूर्ण प्रतिवेदन प्राप्त भएपछि वास्तविक उत्पादन क्षमता टुङ्गो लाग्ने बताए । आयोजनास्थलमा प्रारम्भिक काम सम्पन्न भइसकेको छ ।

यस्तै, डिजाइन र हेडवक्र्सको अध्ययन हाइड्रोल्याबमा भइरहेको कम्पनीले जनाएको छ । विद्युत्गृहमा चारवटा भर्टिकल एक्सिस पेल्टन टर्बाइन र जेनेरेटर जडान गरिनेछ । उत्पादित विद्युत् ५५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत फुकोट हब सबस्टेशनमा जोडिनेछ ।

कम्पनीले सन् २०३३ को अगस्टसम्म व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । विद्युत् विकास विभागले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन र सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाको कुल लागत रु ५५ अर्ब ३३ करोड बराबर रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + sixteen =