जेन्जीको आन्दोलनले पुँजीवादको जालो भत्काउन सहयोग गरेको छ : अर्थशास्त्री खनाल

काठमाडौँ । अर्थतन्त्रका जानकारहरूले जेनजीको प्रदर्शन बेथिति, कुशासन र भ्रष्टाचारविरुद्ध भएकाले यो समयलाई कोर्स करेक्सनको रूपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

‘वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो’ विषयक आज भएको भर्चुअल अन्तरक्रियामा उनीहरूले अब पनि पुरानै शैलीमा अघि बढ्न नहुने बताए । नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनालले भ्रष्टाचारका विरुद्ध मुलुकभरबाट मानिसहरू एकसाथ जाग्नुलाई सकारात्मक रूपमा लिनुपर्नेमा जोड दिए ।

अहिलेको समस्या प्राकृतिक र महामारी विपत्ति नभई आन्तरिक रूपमा मानव सृजित समस्या भएकाले दातृ निकायबाट सहयोग प्राप्त हुने अवस्था सहज नभएको समेत उनले बताए ।

पूर्व अर्थसचिव खनालले भने – ‘नयाँ पुस्ताको नेतृत्वमा मुलुकभरबाट भ्रष्टाचारका विरुद्ध मानिसहरू एकसाथ जाग्नु हाम्रा लागि उपलब्धि हो, संविधान संशोधनलगायतका विषय पछि जोडिएका हुन् । अब यो अवसरलाई सदुपयोग गर्दै सरकारले पुनः निर्माण, नयाँ लगानीको अवसर सृजना र लगानीकर्ताको आत्मविश्वास बढाउनुपर्ने विषयलाई प्राथमिकता दिनुपर्छ । यसप्रकारको अवस्था २०३६ साल र माओवादीको द्वन्द्वको समयमा पनि देखिएको थियो, तत्कालीन समयमा भौतिक संरचनामा ठुलो क्षति पुगेको थियो, सडक, पुलमा ठुलो क्षति हुनुका साथै सञ्चार सेवा नै अवरुद्ध भएको अवस्था थियो । तर अहिले त्यो अवस्था छैन, त्यसैले हामीलाई फेरि उठ्नका लागि ठुलो समस्या हुन्छ भन्ने लाग्दैन ।’

पूर्वसचिव खनालले अन्य मुलुकको तुलनामा नेपाल छिटो ‘रिकभर’ गर्ने मुलुक भएकाले उल्लेख गर्दै प्रदर्शनको तेस्रो दिनमै स्थिरतातर्फ उन्मुख हुनु मुलुकका लागि सकारात्मक पक्ष भएको बताए । यस प्रदर्शनले भ्रष्टाचार र कुशासन हटाउँदै शासकहरूलाई सच्चिनका लागि पनि सन्देश दिएको बताए ।

‘जेनजीले जुन विषय उठाएर प्रदर्शन गरे र त्यसले जुन रूप लियो, यसबाट हामीलाई भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन र आसेपासे पुँजीवादको जालो भत्काउन सहयोग गरेको छ’, खनालले भने ‘आगामी दिनमा मुलुकमा देखिएको व्याप्त भ्रष्टाचार हटाउन सहयोग पुग्छ भन्नेमा मलाई विश्वास छ ।’

खनालले यस प्रदर्शनले अर्थतन्त्रमा ठुलो योगदान दिएका क्षेत्रहरू रेमिट्यान्स, कृषि र पर्यटनमा ठुलो समस्या नपारेकाले रिकभर हुन पनि धेरै समय नलाग्ने बताए । अर्थशास्त्री डा समर खतिवडाले जेन जी प्रदर्शनले नेपाललाई कोर्स करेक्सनको अवसर दिएको टिप्पणी गरे । खतिवडाले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्र अझै सम्भावना भएको क्षेत्र भएको बताए ।

अर्थशास्त्री खतिवडाले भने ‘जेनजी प्रदर्शनले ‘क्रोनी क्यापिटालिजम’लाई भत्काउने प्रयास गरेको छ, नयाँ पुस्ताले सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ । यो फाइनान्सियल एक्सन टास्क फोर्स ९एफएटिएफ०को ग्रे लिस्टबाट नेपाललाई निकाल्नका लागि प्राप्त भएको अवसर पनि हो । अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र पर्यटनमा ठुलो सम्भावना छ, यद्यपि विदेशी पर्यटकको प्रवेश विन्दु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्याका कारण केही पर्यटक निरुत्साहित हुन्छन् कि भन्ने भय भने विद्यमान छ, सरकारले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक प्रचारप्रसार गर्न आवश्यक छ । हामीले ल्याइरहेको विदेशी लगानी कुल गार्हस्थ्य उत्पादनको ०.३ प्रतिशत मात्रै हो, त्यो आफैमा सानो आकार भएकाले ठुलो चिन्ता लिनुपर्ने अवस्था छैन, बरु अब यसलाई बढाएर कसरी तीन प्रतिशत बनाउन सकिन्छ भन्ने विषयमा काम गर्न सकिन्छ ।’

अर्थशास्त्री खतिवडाले अबको अर्थतन्त्रमा खुला, पारदर्शी, स्वतन्त्र नीति अपनाउनुपर्नेमा जोड दिए । जेन जीको प्रदर्शनले प्रत्यक्ष विदेशी लगानीमा ठुलो असर नपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fourteen =