भाटभटेनीको सन्देशः ‘ध्वस्त भयौं, तर आशा हराएको छैन’

काठमाडौँ । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेर क्षतिग्रस्त भएको भाटभटेनी सुपरमार्केटले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै जनसमर्थनप्रति आभार प्रकट गरेको छ ।
सन्देशमा भनिएको छ, ‘दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन । आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं ।’
सामाजिक सञ्जालमार्फत पोस्ट गरिएको भावुक सन्देशमा हजारौं सहयोगी हातहरूले पसल सफा गर्न, आँसु पुछ्न र फेरि उठ्न ऊर्जा दिएको उल्लेख छ ।
‘भाट–भटेनी फेरि उभिनेछ । तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं,’ स्टाटसमा भनिएको छ ।
भाटभटेनी काठमाडौँको प्रमुख व्यापारिक केन्द्रमध्ये एक हो, जहाँ आन्दोलनको क्रममा व्यापक क्षति पुगेको थियो । निजी सम्पत्तिमाथिको आक्रमणको प्रत्यक्ष चपेटामा परेका संस्थाहरूमध्ये भाटभटेनी पनि एक हो ।








