संसद् विघटनको मागसहित राष्ट्रपतिलाई डा तोसिमाको सन्देश

काठमाडौं । नेपालको समकालीन राजनीतिमा युवा पुस्ताको बढ्दो प्रभाव र विशेषगरी ‘जेन-जी’ (GenZ) को सक्रियताले देशलाई नयाँ दिशातर्फ उन्मुख गराइरहेको छ ।

यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले सामाजिक सञ्जालमार्फत युवा पुस्तालाई सम्बोधन गर्दै एक ओजस्वी अपिल गरेकी छिन् । उनको यो सन्देशले वर्तमान राजनीतिक गतिरोध, भ्रष्टाचार र देशको भविष्य निर्माणमा युवाको भूमिकालाई स्पष्ट रूपमा उजागर गरेको छ ।

तोसिमा कार्कीले आफ्नो सन्देशमा जेन-जी पुस्तालाई ‘देशलाई भ्रष्टाचारी र अघोषित तानाशाहीहरूको पन्जाबाट मुक्त गराउने’ श्रेय दिएकी छि न्। उनले जेन-जी क्रान्तिलाई नेपालको इतिहासमा नमेटिने गरी स्थापित भएको र यसमा अन्य कुनै पनि पुस्ताले भाग खोज्ने ठाउँ नरहेको स्पष्ट पारेकी छिन् ।

उनले देशमा भएका भौतिक क्षति र केही कलिला जीवन गुमाउनुपरेकोमा गहिरो दुःख व्यक्त गर्दै यसको सम्पूर्ण दोष आफू र आफूभन्दा अघिल्लो पुस्ताले लिनुपर्ने बताएकी छिन् । ‘हामीले समयमा नै तपाईँहरूलाई भ्रष्टाचारमुक्त, सुसंस्कृत र यहि देशमै सुनौलो भविष्य सुनिश्चित भएको नयाँ नेपाल दिन सकेको भए हामीले हिजो आफ्नो अगाडि आँखा हाम्रा भाइबहिनीहरू सहिद हुनुभएको र सिंहदरबार लगायत सार्वजनिक सम्पत्तिहरू दनदनी जलेको देख्नुपर्दैनथ्यो,’ उनले लेखेकी छिन् ।

कार्कीले आफ्नो पुस्ताले दुई वर्षसम्म संसदमा रहँदा पनि भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न नसकेकोमा आत्मालोचना गर्दै जेन-जीले दुई दिनमै त्यो काम गरेर देखाएकोमा सलाम गरेकी छिन् ।

उनले युवा पुस्तालाई अब विगतका पुस्ताजस्तै विभाजित नभई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेकी छिन् । ‘विभाजित हुनुभयो र ढिला गर्नुभयो भने विदेशी, देशद्रोही र फेरि त्यही भ्रष्टाचारी तत्वहरूले खेल्न थाल्छन् । पूर्ण सैनिक शासन आउने वातावरण बनाउन हुँदैन है,’ उनको चेतावनी छ ।

अन्तरिम सरकार र संविधान संशोधनको आवश्यकता
कार्कीले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई सर्वसम्मत स्वीकार गरी अघि बढ्न र तत्काल संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्नुपर्नेमा जोड दिएकी छिन् । उनले अन्तरिम सरकारले ६ महिनाभित्र चुनाव गराएर जनताको सरकार बनाउने जिम्मेवारी राम्रोसँग पूरा गर्नुपर्ने बताएकी छिन् ।

उनका अनुसार, हालको संसदीय अभ्यासले वर्तमान संविधानले स्थिर सरकार दिन नसक्ने र जनमतको उपहास हुने गरी गठबन्धनका खेल मात्र खेलिने कुरा सिकाएको छ । यसैले, पार्टीले बहुमत ल्याउन सक्ने वातावरण बनाउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री ल्याउने र प्रदेश सरकार खारेज गर्ने हिम्मत राख्नुपर्ने उनको भनाइ छ । उनले नयाँ नेपालको लागि परिमार्जित संविधान आवश्यक रहेको समेत औंल्याएकी छिन् ।

कार्कीले राष्ट्रपतिको ध्यानाकर्षण गराउँदै राष्ट्र सङ्कटको यस घडीमा मुलुकको सार्वभौम रक्षाका लागि विशेष अधिकार प्रयोग गरी औचित्यहीन संसदलाई तत्काल विघटन गर्न अपिल गरेकी छिन् । उनले अन्तरिम सरकार बनाई युवालाई देश हाँक्ने बाटो खोलिदिएर एक सच्चा अभिभावकको परिचय दिन समेत सम्माननीय राष्ट्रपतिलाई आग्रह गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 6 =