सेनाले बढायो निगरानी : २७ जना पक्राउ, हतियार र लुटिएको धन बरामद

काठमाडौँ । नेपाली सेना र अन्य सुरक्षा निकायहरूको संयुक्त कारबाहीपछि देशभर शान्ति सुरक्षाको अवस्था बढाएको छ । मंगलबार राति १० बजेदेखि चलाइएको विशेष सुरक्षा अभियानअन्तर्गत आज बिहान १० बजेसम्म लुटपाट, आगजनी तथा विध्वंसात्मक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ ।
सुरक्षा निकायले विषम परिस्थितिको फाइदा उठाउँदै अराजक तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो । विशेषगरी काठमाडौँ उपत्यका र देशका विभिन्न स्थानमा भएका यस्ता घटनाहरूमाथि सुरक्षाकर्मीले कडा निगरानी राखेको थियो । काठमाडौँको गौशाला, चाबहिल र बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ठूलो मात्रामा नगद ३३ लाख ७० हजार बरामद भएको छ ।
त्यसैगरी, काठमाडौँका विभिन्न स्थानबाट २३ नाल र पोखराबाट ८ नाल गरी जम्मा ३१ नाल विभिन्न किसिमका हतियारहरू बरामद भएका छन् । यसका साथै ठूलो संख्यामा म्यागजिन र गोलीगठ्ठा पनि नियन्त्रणमा लिइएको छ। यो बरामदगीले अवैध हतियारको प्रयोग गरी हुन सक्ने थप आपराधिक गतिविधिहरूलाई निस्तेज पारेको छ ।
सुरक्षा कारबाहीका क्रममा भएका आगजनीका घटनाहरू नियन्त्रण गर्न ३ वटा बारुण यन्त्रको प्रयोग गरिएको छ । सुरक्षाकर्मीको सक्रियताले थप क्षति हुनबाट जोगिएको छ ।
यस क्रममा २३ जना नेपाल प्रहरीका सदस्य र ३ जना गैर-सैनिक व्यक्तिहरू घाइते भएका छन् । उनीहरूको उपचार सैनिक अस्पतालहरूमा भइरहेको नेपाली सेनाले जनाएको छ ।








