सडकमा सेना, शान्त काठमाडौं उपत्यका (तस्बिरहरु)

काठमाडौं । दुई दिन निकै असहज परिस्थितिबाट गुज्रिरहेको काठमाडौँ उपत्यकाको जनजीवन अब क्रमशः सामान्यीकरणतर्फ अग्रसर भएको छ । नेपाली सेनासहितका सुरक्षा फौजको सक्रिय परिचालनले राजधानीमा शान्तिसुरक्षाको प्रत्याभूति दिलाएको छ ।
हाल उपत्यकाका मुख्य सडकहरूमा नेपाली सेनाको बाक्लो उपस्थिति देख्न सकिन्छ । यद्यपि, मानिसहरूको चहलपहल र सवारीसाधनको उपस्थिति भने अझै पनि न्यून रहेको छ । प्रदर्शनकारीहरूद्वारा क्षति पुर्याइएका सार्वजनिक तथा निजी सम्पत्तिहरूमा लागेको आगो निभाउने र थप क्षति हुन नदिने कार्यमा सुरक्षाकर्मीहरू दिनरात खटिएका छन् ।
यस विषम परिस्थितिमा नेपाली सेनाले आम सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन पुनः अनुरोध गरेको छ । नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सेनाले ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिक स्थलहरू तथा व्यक्तिगत सम्पत्तिको सुरक्षाका लागि सबै सुरक्षा निकाय तैनाथ गरेको छ ।
कुनै पनि अवाञ्छित गतिविधि वा शंकास्पद गतिविधिबारे जानकारी प्राप्त भएमा तत्काल सुरक्षा फौजलाई खबर गर्न पनि सेनाले आग्रह गरेको छ ।









