कारागारका कैदीहरूलाई रिहाइ गर्नु हाम्रो उद्देश्य थिएन : जेनजी समूह

काठमाडौं । सरकार नै धर्मराउने गरी दुई दिनसम्म चलेको ‘जेनजी’ आन्दोलनको आडमा देशका विभिन्न कारागारबाट कैदीहरू फरार भएका छन् । यद्यपि, ‘जेनजी’ समूहले आफ्नो आन्दोलनको उद्देश्य कुनै पनि कैदीलाई जेलबाट रिहा गर्नु नरहेको स्पष्ट पारेको छ ।
सामाजिक सञ्जालमार्फत समूहका युवाहरूले कैदीहरूलाई जेलबाट भगाउन सहयोग गर्नेमाथि छानबिन हुनुपर्ने र उनीहरूलाई पुनः जेलफिर्ती गर्नुपर्ने माग राखेका छन् । ‘हामी कसैको पनि आकस्मिक रिहाइलाई कडाइका साथ अस्वीकार गर्दछौं । यो निर्णय न्याय होइन, उनको समूह (समर्थक र दलालहरू) को दबाब र प्रभावको परिणाम हो,’ जेनजी समूहका एक सदस्यले भनेका छन्, ‘हाम्रो संघर्ष सधैं भ्रष्टाचारविरुद्ध र कानूनी शासनको पक्षमा रहँदै आएको हो, कुनै व्यक्तिलाई बचाउन वा रिहा गर्न होइन ।’
उनीहरूले भ्रष्टाचारविरुद्धको अभियान भएकाले कानुन सबैमाथि समान रूपमा लागू हुनुपर्नेमा जोड दिएका छन् । ‘यदि कैदीहरूलाई साँच्चिकै निर्दोष छन् भने त्यसलाई कानुनी प्रक्रियाले प्रमाणित गरोस् । अदालतको फैसलापछि मात्र रिहा गरिनुपर्छ, त्यसअघि होइन । न्यायलाई कुनै व्यक्तिको प्रभावका लागि सम्झौता गर्न सकिँदैन- एउटै कानून सबैका लागि बराबरी लागू हुनुपर्छ,’ जेनजी समूहका समर्थकले भने ।
घटनाले नेपालको कानूनी शासन, कारागार सुरक्षा र न्याय प्रणालीमाथि गम्भीर प्रश्नहरू खडा गरेको छ । जेनजी आन्दोलन, जसले भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूको आक्रोशलाई प्रतिनिधित्व गर्छ, अब कैदी फरार प्रकरण सँग जोडेर हेरिएको छ ।
हाल फरार कैदीहरूको संख्या र उनीहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ । जेनजी समूहले आफ्नो अडान स्पष्ट पार्दै आन्दोलनको मूल मर्मलाई विचलित हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ ।








