सिभिल अस्पतालभित्रै प्रहरीको प्रवेश, डाक्टर र बिरामी आतंकित

काठमाडौं । जेनजी आन्दोलनकारीको उपचार भइरहेको काठमाडौंको सिभिल अस्पताल परिसरभित्रै प्रहरी प्रवेश गरी प्रदर्शनकारीलाई धरपकड गरेको घटनाले देशभर आक्रोश र चिन्ता बढाएको छ । बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका घाइतेहरूको उपचारका क्रममा अस्पताल हाताभित्रै प्रवेश गरेको प्रहरी मध्यरात अस्पतालमा पसेको हो ।

सिभिल अस्पतालभित्रबाट सार्वजनिक भएको एक भिडियोमा एक स्वास्थ्यकर्मीले आँखामा आँसु लिएर अवस्था निकै तनावपूर्ण रहेको बताएका छन् । उनले भनेका छन्, ‘हामी यहाँ इमर्जेन्सी कक्षमा बिरामीको उपचार गरिरहेका थियौं, अब प्रहरी भित्रै आइसकेको छ । मानवता भन्ने पनि हुन्छ । एउटा क्षेत्र छुट्याउनुपर्ने हुन्छ । अब हामीले सबै नैतिकता तोड्यौं । बाहिर जनताले जे गर्नसक्नुहुन्छ, गर्नु । बिरामी बचाउनै गाह्रो भइरहेको छ । बाहिर बिरामी लगेर आँखामा अश्रुग्यास हानिरहेको छ । डाक्टरको हातमा उपचार गर्नेबाहेक केही छैन, हामी सबै भित्र फसेका छौं ।’

उनले इमर्जेन्सी भवनको अगाडि नै प्रहरीले अश्रुग्यास प्रहार गरेको र त्यसबाट उपचारमा खटिएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले समेत समस्या भोग्नुपरेको जानकारी दिए । प्रहरीले माइकिङ गर्दै प्रदर्शनकारीलाई अस्पतालबाट बाहिर निस्कन भनिरहेको थियो, तर चिकित्सकहरूको आग्रहका बाबजुद प्रहरी बाहिरिएको थिएन।

यसैबीच, सांसद तोसिमा कार्कीले यस घटनालाई लिएर सरकारको चर्को आलोचना गर्दै सामाजिक सञ्जालमा एक भावुक स्टाटस लेखेकी छन् । उनले ‘आँखा झिम्मिक गर्न सकिन मैले । तँ त मस्त निदाइस होला हे सरकार !!’ भन्दै सरकारको असंवेदनशीलतामाथि प्रश्न उठाएकी छन् । उनले मृत युवाका बाबुआमाको काख रित्तिएको देखेको, डाक्टरहरूले अथक प्रयास गर्दा पनि बचाउन नसकेको र आफ्नो डाक्टरी पेसा हारेको पीडा सुनाएकी छन् । कार्कीले अस्पताल तथा विद्यालयमा समेत गोली चलाउने आदेश दिँदा सरकारको हात नकाँपेकोमा रोष प्रकट गरेकी छन् ।

सांसद कार्कीले आफू ‘यो हत्यारा र संवेदनहीन सरकारको संसदमा सांसद भइरहनु धिन लागिसक्यो’ भन्दै सरकारलाई राजीनामा दिन वा संसद छाड्न चुनौती दिएकी छन् । उनले सम्पूर्ण युवा सांसदहरूलाई मानवता, सुशासन र विधिको शासनका लागि आन्दोलनमा साथ दिन आग्रह गर्दै वर्तमान संसदको औचित्य समाप्त भइसकेको घोषणा गरेकी छन् । उनले युवाको अन्तरिम सरकार र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आउने मार्ग प्रशस्त गर्नुपर्ने स्पष्ट मागसमेत राखेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 8 =