जेन–जी प्रदर्शनका कारण बिथोलियो राज्य व्यवस्था समितिको बैठक

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेन–जी पुस्ताको प्रदर्शनका कारण स्थगित भएको छ ।
नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफलका लागि बोलाइएको बैठक जेन–जी प्रदर्शनपछि विकसित घटनाक्रमका कारण स्थगित भएको हो ।
गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र गृहसचिव गोकर्णमणि दुवाडी लगायत जेन–जीको प्रदर्शनका कारण बानेश्वर क्षेत्र तनावग्रस्त भएसँगै बाहिरिएका थिए ।
त्यसअघि बैठकमा केही सांसदहरूले विधेयकमाथि आफ्नो संशोधन प्रस्ताव राखे । विधेयकमाथिको छलफलमा सहभागी हुँदै नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले विधेयकमा शान्ति सुरक्षा र प्रशासनिक निर्देशनको संरचना स्पष्ट पार्नुपर्ने आवश्यकता रहेको धारणा राखिन् ।
उनले नेपाल प्रहरीले गर्ने गतिविधि नेपाल सरकारको निर्देशन र सुपरिवेक्षणमा तथा जिल्लास्तरमा शान्ति सुरक्षा र सुव्यवस्थासम्बन्धी विषयमा प्रमुख जिल्ला अधिकारी ९सिडिओ०ले आवश्यक निर्देशन दिनसक्ने व्यवस्था प्रस्ताव गरिन् ।
उनले भनिन् ‘नेपाल प्रहरीको निर्देशन र सुपरिवेक्षण नेपाल सरकारले गर्नेछ । जिल्लाको शान्ति सुरक्षा, सुव्यवस्था र सोसम्बन्धी प्रशासनका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई आवश्यक निर्देशन दिनसक्नेछ । शान्ति व्यवस्था तथा सुव्यवस्थाका सम्बन्धमा प्रहरी कर्मचारीलाई आदेश वा निर्देशन दिनुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीले सम्बन्धित प्रमुखमार्फत दिनुपर्नेछ भनेर संशोधन राखेको छु ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले राष्ट्र र जनतालाई सुरक्षा ग्यारेन्टी दिने प्रहरी सङ्गठनमाथि राजनीतिक हस्तक्षेप बढिरहेको भन्दै त्यस्तो हुन नदिने गरी विधेयकलाई समृद्ध बनाउनुपर्ने धारणा राखिन् । उनले अपराध अनुसन्धान जस्ता विशिष्टीकृत कामहरूमा प्रहरी संगठनलाई कसैले पनि हस्तक्षेप गर्न नपाउने व्यवस्था गर्दा प्रहरीको व्यावसायिक स्वायत्ततालाई बढवा दिने धारणा राखिन् ।
लगत्तै अधिकांश सांसदले बैठक स्थगित गर्न प्रस्ताव गरेसँगै सभापति न्यौपानेले बैठक स्थगित भएको घोषणा गरिन् । विधेयकमा ५२ वटा संशोधन प्रस्तावमा विभिन्न ६४८ वटा विषयमा संशोधन परेको छ ।








