जेन-जीलाई प्रदर्शन गर्न प्रशासनको अनुमति

काठमाडौं | जेन-जीलाई प्रदर्शन गर्ने अनुमति दिइएको छ ।
माइतीघर–नयाँ बानेश्वर क्षेत्रको सार्वजनिक स्थलमा प्रदर्शन गर्ने उद्देश्यले जेन-जीका केही विद्यार्थीहरू जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अनुमति प्राप्त गर्न पुगेका थिए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले जेन-जीका प्रतिनिधिहरूसँगको भेट पुष्टि गर्दै भने ‘भोलि (सोमबार) प्रदर्शन गर्नका लागि उनीहरू आएका थिए। निषेधित क्षेत्र बाहेकका स्थानमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएका छौं ।’
सरकारको समाजिक सञ्जालमा लगाएको प्रतिबन्ध, देशभित्र व्याप्त भ्रष्टाचार र जनतासँगको नेतृत्वको असंवेदनशील व्यवहारका बारेमा जेन-जीका विद्यार्थीहरूले असन्तोष जनाउँदै सोमबार प्रदर्शन गर्ने घोषणा गरेका छन् । उनीहरूले समाजका केही अनियमिततासँग सम्बन्धित समस्याहरूलाई उठाउँदै आफ्ना आवाजहरू सार्वजनिक गर्न चाहेका छन् ।
प्रदर्शनका मुख्य मागहरूमा बेथिति नेताहरूको कार्यशैली र उनीहरूको छोराछोरीहरूको विलासी जीवनशैलीको विरोध पनि रहेको छ ।








