निजामती सेवालाई सुशासनमुखी बनाऔँ, युवालाई स्वदेशमै रोकौँ : मन्त्री न्यौपाने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीलाई सुशासनमुखी, इमानदार र पारदर्शी भएर कार्यसम्पादन गर्न आग्रह गरेकी छिन् ।

निजामती कर्मचारी दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले यस्तो बताएकी हुन् । देशको नीति, कार्यक्रम र कानुन कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी निजामती कर्मचारीकै भएको उल्लेख गर्दै उनले समयसापेक्ष, सक्षम र पारदर्शी भएर आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेमा जोड दिइन् । उनले कर्मचारी प्रशासनले नागरिकमा विश्वास दिलाउने र जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न सके मुलुकमा सुशासनको प्रत्याभूति दिलाउन सकिने विश्वास व्यक्त गरिन् । सबै नागरिकले आफ्नो कर्तव्य अनुशासनपूर्वक पालना गरेको खण्डमा विकसित देशहरूको चर्चा गरिरहनु नपर्ने जिकिर पनि उनले गरिन् ।

उनले भनिन्, ‘कर्मचारी संयन्त्रलाई सुशासनमुखी बनाऔँ । सम्पूर्ण कर्मचारीहरू इमानदार बन्नुपर्छ । सुशासनमुखी बन्नुपर्छ । समयको गतिसँगै हिँड्न सक्ने बन्नुपर्छ । पारदर्शिता कायम गर्नुपर्छ । अब्बल रूपमा कार्यसम्पादन गरेर आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ । आज समयले यही माग गरिरहेको छ । युवाहरू रोजगारीको खोजिमा विदेशमा भौँतारिने स्थिति नबनोस् । म निजामती सेवामार्फत देशको सेवा गर्छु भन्ने भावनाले प्रेरित होऊन् । हामीले कर्मचारी प्रशासनलाई यो खालको विश्वास दिलाउनुपर्नेछ । यो खालको भरोसा दिलाउनुपर्नेछ । देशको बजेट, नीति, कानुन तथा कार्यक्रम कार्यान्वयन गर्ने देशको निजामती कर्मचारीले नै हो । जति कर्मचारीहरूले सरकारको नीति र कार्यक्रमहरूलाई कार्यसम्पादन गर्न सक्नुहुन्छ, त्यति नै यो देशले मुहार बदल्दै जान्छ । त्यसकारण म आग्रह गर्न चाहन्छु, हामी सबै जुनसुकै निकायमा भए पनि देश सबैभन्दा ठूलो कुरा हो । हामी सरकारमा रहने तथा अन्य सबै निकायमा रहनेहरू यो देशको नागरिक पनि हौँ । त्यसकारण हामी सबै जिम्मेवार बन्यौँ भने यो देश बन्छ । अनि हामीले संसारका विकसित देशहरूको चर्चा गरिरहनु पर्दैन ।’

मन्त्री न्यौपानेले युवाहरू पलायन हुने क्रम बढ्दै गएको उल्लेख गर्दै उनीहरूलाई निजामती क्षेत्रमा आकर्षित गर्न जरुरी रहेको पनि बताइन् । उनले कुनै एक जनाको चाहनाले मात्रै देश नबन्ने भन्दै सबैले आ-आफ्नो तहबाट योगदान दिन जरुरी रहेको बताएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =