काँग्रेसले देशभित्रै रोजगारी सिर्जना गर्ने सपना देख्नुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आजको नेपाली काँग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
हाल देशमा पूर्वाधार विकाससँगै धेरै कुराहरू बदलिएको उनको भनाई छ । बदलिँदो परिवेशमा मानिसका आकांक्षाहरु पनि बढेको उल्लेख गर्दै उनले जुन स्वाभाविक भएको बताए । नेपालबाट धेरै युवाहरू रोजगारीको लागी विदेशमा जाने गरेकोले त्यसलाई रोक्न नेपालमा नै आकर्षक रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।
हाल कोरिया काम गर्न गएको मान्छेले मासिक दुई लाख बचत गर्ने उल्लेख गर्दै नेपालमा पनि सोही बराबरको आम्दानी हुने गरी रोजगारी सिर्जना गर्नुपर्ने बताए । हाल ५० हजार भन्दा बढीले राम्रो रोजगारी पाउन नसकेको उनको भनाई छ । नेपालका युवाहरूलाई नेपालभित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्न काँग्रेस लाग्नुपर्ने उनको भनाई छ ।
काँग्रेसका लागी सरकारमा बस्ने, टिक्ने, रहने वा नरहने भन्ने गौण कुरा हुनुपर्ने उनले बताए । उनले काँग्रेसले देखेको सपनालाई आम नागरिकको सपना बनाउन सक्नुपर्नेमा जोड दिए ।
उनले भने ‘देशभरि पूर्वाधार बनेको छ । देशभरि विकास भएको छ , थुप्रै कुराहरू बदलिएको छ । तर यो बदलिएको सँगसँगै मान्छेहरूको आकंक्षाहरु पनि बढेको छ । जुन स्वाभाविक हो । हाम्रा मानिसहरू बाहिर काम गर्न गएका छन् । म अस्ति कोरिया गएर आए, कोरियामा एउटा केटोले महिनाको बचत दुई लाख छ । कमाई अडाई लाख छ । मेरो देशमा अहिले वर्षको पाँच लाख रोजगारी सिर्जना गर्नपर्छ । मैले त्यो दुई लाख दिने, एक लाख दिने तलब दिएर कति जना रोजगारी सिर्जना हुन्छ, देशमा अहिले । ४०/५० हजार मान्छे भन्दा बढीले गुणस्तरको काम पाएको अवस्था छैन । लाखौँ मान्छेलाई रोजगारी सिर्जना गर्नुपर्ने अवस्था छ । त्यो पनि फेरि सामान्य रोजगारी सिर्जना गरेर हुँदैन । राम्रो आम्दानी हुने रोजगारी सिर्जना गर्नुपर्नेछ । आजको नेपाली काँग्रेसले देख्ने सपना भनेको म नेपालका केटाकेटीहरूलाई नेपाल भित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्छु । यसका निम्ति जे पनि गर्छु, मेरो लागी मुख्य कुरा यो हो अहिले । मेरो लागी सरकारमा बस्नु, सरकारमा टिक्नु, सरकारमा रहने नरहने भनेको गौण कुरा हुन् । म आजको दिनमा पहिला यो सपना देख्छु, त्यो सपनालाई समात्छु, त्यो प्रति एउटा विश्वास राख्छु । र मैले देखेको सपनालाई आम नागरिकको सपना बनाउँछु । र यो सपना पुरा गर्नको निम्ति यो प्रतिबद्ध छ भन्ने भरोसा दिलाउँछु ।’
बिपी कोइरालाले नेपालीलाई गरिबीबाट बाहिर निकाल्ने सपना देखेको उल्लेख गर्दै उनले आजको काँग्रेसले युवालाई देशभित्रै बस्ने वातावरण बनाउने लक्ष्य राख्नुपर्ने बताए ।








