लेखजंगलाई उम्मेदवार नबनाउन महिला सुरक्षा दबाब समूहको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको विषयमा महिला सुरक्षा दबाब समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समूहले बिहीबार एक विज्ञप्ति जारी गर्दै डा. थापामाथि लागेको कानुनी र नैतिक प्रश्नहरूका कारण उनको उम्मेदवारी महिला अधिकारप्रति राजनीतिक संवेदनहीनताको ज्वलन्त नमुना भएको बताएको छ ।

महिला सुरक्षा दबाब समूहका अध्यक्ष इरादा गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएअनुसार, डा. थापामाथि पहिलो श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको आरोप छ । उनकी कान्छी श्रीमतीले आफूलाई मानसिक यातना दिएको, खान लाउन नदिएको र घरबाट निकालेको भन्दै २०७९ पुस २० गते जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । पछि २०७९ माघ १५ गते मिलापत्रमार्फत सम्बन्ध विच्छेद भएको थियो ।

समूहले डा. थापाले श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको प्रमाण आफूमाथि आरोप लागेपछि विवाद साम्य पार्नका लागि पार्टीमा पछि मात्रै सार्वजनिक गरेको दाबी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यति गम्भीर विवाद हुँदाहुँदै पार्टीले उहाँलाई उम्मेदवार बनाउनु महिला अधिकारप्रति राजनीतिक संवेदनहीनताको ज्वलन्त नमुना हो । यो घटनाले महिला अधिकार, सामाजिक मर्यादा र सार्वजनिक पदधारण गर्ने व्यक्तिको नैतिकतामा प्रश्न उठेको हुँदा कुनै पनि राजनीतिक दलले घटनाको ढाकछोप गर्नु महिलामाथिको दोहोरो हिंसा हुन जान्छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘रास्वपा जस्तो नयाँ पार्टीले देशमा परिवर्तन ल्याउनुपर्नेमा यस्तो व्यक्तिलाई उम्मेदवारी दिएर सक्षम महिलालाई पछाडि पार्दै के सन्देश दिन खोजेको हो ? हाम्रो गम्भीर प्रश्न छ ।’

दबाब समूहले महिलाविरुद्धको घरेलु हिंसा र मानसिक यातनालाई राजनीतिक संरक्षण दिने प्रवृत्तिको अन्त्यका लागि निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगलाई यस घटनाको नैतिक, कानुनी र लैङ्गिक रूपमा मूल्यांकन गर्न आग्रह गरेको छ । साथै, सार्वजनिक पदमा रहन योग्य व्यक्तिका लागि नैतिक आचरणको मापदण्ड कडाइका साथ लागू गर्न पनि समूहले जोड दिएको छ ।

‘बहुविवाहको मुद्दा लागेको र हिंसा पीडक व्यक्तिलाई कुनै हालतमा उम्मेदवारको चयन गर्नु हुँदैन र त्यस्तो मान्छेले जित्यो भने पनि संसदमा गएर कस्तो कानुन बनाउँछन् ? यो हामी महिला सुरक्षा दबाब समूहको प्रश्न हो,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =