हेरचाह कार्यलाई व्यावसायिक मान्यताको खाँचो : परराष्ट्रमन्त्री डा. आरजु

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह कार्यलाई एउटा पेसाका साथै मानवीय सेवाका रूपमा समेत हेरिनुपर्नेमा जोड दिएकी छन् । एसिया प्यासिफिक केयर लर्निङसम्बन्धी काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन गर्दै मन्त्री देउवाले बाल्यकालदेखि वृद्धावस्थासम्मका हेरचाहसम्बन्धी समग्र कार्यहरूलाई केवल पेसा वा जागिरका रूपमा मात्र नभई मानवीय सेवाका रूपमा समेत स्वीकार्नुपर्ने बताइन् ।
उनले हेरचाहसम्बन्धी कार्यको अपरिहार्य भूमिकाका बाबजुद पनि घर, समुदाय तथा राष्ट्रियस्तरमा यसको मूल्याङ्कन कमै मात्र गरिएको र अर्थतन्त्रमा यसको योगदानका बारेमा पर्याप्त खोजी नगरिएकोमा चिन्ता व्यक्त गरिन् । मन्त्री देउवाका अनुसार नेपालमा यस क्षेत्रको योगदान कृषिकै हाराहारीमा रहे पनि यसको असमान भार प्रायः महिलाले नै बोकिरहेका छन् । यसले महिलाको अर्थतन्त्र, राजनीति र सार्वजनिक जीवनमा हुने सहभागितालाई समेत अवरुद्ध गरिरहेको उनको भनाइ थियो ।
नेपाल सरकारले हेरचाह कार्यको महत्त्वलाई आत्मसात् गर्दै १६औँ आवधिक योजनामा पहिलोपटक हेरचाहलाई विकास दृष्टिकोणको केन्द्रमा राखेको उनले जानकारी दिइन् । मन्त्री देउवाले हेरचाहमा गरिने लगानीलाई खर्चका रूपमा नलिई उच्च प्रतिफलयुक्त लगानीका रूपमा हेरिनुपर्नेमा जोड दिइन्। स्वास्थ्य र शिक्षा हेरचाहमा अहिले रहेको अभावलाई पूरा गर्न सके नेपालमा लाखौँ नयाँ रोजगारी सिर्जना हुने र त्यसको कम्तीमा पनि ६० प्रतिशत महिलाहरूकै पक्षमा रहने विभिन्न अध्ययनहरूले देखाएको उनले स्पष्ट पारिन् ।
यस क्षेत्रमा रहेका सीमित पूर्वाधार, दक्ष हेरचाहकर्मीको अभाव र जनचेतनाको कमीजस्ता चुनौतीहरूको सामना गर्न सम्मानजनक रोजगारीको सिर्जना, सामाजिक सुरक्षाको विस्तार र हेरचाहकर्मीलाई उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
दशकौँअघि आफूले मुलुकको सुदूरपश्चिम तथा अन्य क्षेत्रहरूमा सुरक्षित मातृत्व तथा लैङ्गिक समानताका क्षेत्रमा गरेका कामहरूको स्मरण गर्दै मन्त्री देउवाले यस्ता सहयोग एवं अभियानहरूको गणना कमै हुने गरे पनि यिनै कार्यक्रमहरूले नेपालमा मातृ तथा शिशु मृत्यु घटाउन ठूलो योगदान गरेको चर्चा गरिन् । हेरचाहसम्बन्धी कार्यहरूबाटै महिला तथा शिशु स्वास्थ्यमा सुधार आएको र यसबाट देशकै स्वास्थ्य सूचकहरू पनि बलिया हुँदै गएको उनको धारणा छ ।








