छिपछिपे सहकारी ठगी : राप्रपाकी सांसद गीता बस्नेत १५ लाख धरौटीमा रिहा

काठमाडौं । छिपछिपे बचत तथा ऋण सहकारी संस्थाको ९६ लाख रुपैयाँ हिनामिनामा संलग्न रहेको अभियोगमा एक वर्षदेखि फरार रहकी राप्रपाकी संघीय सांसद गीता बस्नेत १५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी छन् ।
पूर्वी नवलपरासी जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद ज्ञावालीको इजलासले बुधबार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
राप्रपाबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी बस्नेत बुधबार बिहान साढे १० बजे दुई जना वकिलसहित अदालतमा उपस्थित भएकी थिइन् ।
अदालतमा हाजिर भएको दिनमै थुनछेक बहसपछि उनी धरौटीमा छुटेकी हुन् । जिल्ला सरकारी वकिल सुरेन्द्र काफ्लेले बस्नेत धरौटीमा रिहा भएको पुष्टि गरे ।
बस्नेत अध्यक्ष रहेको बर्दियास्थित कृष्णसार रिसोर्टमा छिपछिपे सहकारीको ९६ लाख रुपैयाँ अवैध रूपमा लगानी गरिएको छानबिन प्रतिवेदनमा उल्लेख छ । सोही आधारमा जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले उनीविरुद्ध सहकारी ठगी मुद्दा दर्ता गरेको थियो ।
मुद्दा दर्ता भएपछि बस्नेत फरार रहँदै आएकी थिइन् । उक्त प्रकरणमा बस्नेतका ज्वाइँ तथा छिपछिपे सहकारीका तत्कालीन सचिव नगेन्द्र रिमाल हाल हिरासतमा छन् । अनुसन्धानमा रिसोर्टमा लगानी गर्दा ऐनविपरीत कार्य भएको देखिएको छ ।








