सरकारले मल कारखाना स्थापना गर्न ढिलाई नगरोस् : विनोद चौधरी

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले नेपालमा मलको कृतिम अभाव अन्त्य गर्न तत्काल मल कारखाना स्थापना गर्न सरकारलाई आग्रह गरेका छन् ।
संघीय संसद भवन परिसरमा बुधवार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै सांसद चौधरीले बर्दघाटमा मल कारखाना स्थापना गर्न उपयुक्त हुने सुझाव दिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पालादेखि नै मल कारखाना स्थापना गर्ने विषयमा देखिएको तदारुकता अहिलेको सरकारले पनि निरन्तरता दिनुपर्ने धारणा राखे ।
‘नेपालमा मल कारखाना खुल्न सक्छ, र त्यो बर्दघाटमै खुल्नुपर्छ,’ सांसद चौधरीले भने, ‘वर्तमान सरकार, प्रधानमन्त्री, उद्योगमन्त्री र कृषिमन्त्रीले देखाएको तत्परतालाई अन्तिम निर्णयमा पु¥याउनु जरुरी छ ।’
चौधरीले मलको वितरण प्रणालीमा देखिएको अव्यवस्थालाई पनि गम्भीर रूपमा लिँदै सरकारले तत्काल सुधार गर्नुपर्ने माग राखे । उनले भने ‘हाम्रो जस्तो क्षेत्रमा किसानहरू मलको लागि जहिल्यै तड्पिरहेका छन्, तर कतिपय ठाउँमा मल प्रयोगमा नआई कुहिएर बस्ने अवस्था देखिएको छ । यो वितरण प्रणालीको समस्या हो ।’
नेपालमा वार्षिक ७ लाख मेट्रिक टन मलको माग रहेपनि ४ लाख मेट्रिक टनभन्दा बढी मल आयात गर्न नसकिएको उल्लेख गर्दै उहाँले सो स्थिति नै मल अभावको कारण भएको स्पष्ट पारे ।
उनले मल कारोबारमा सक्रिय विचौलियाहरूको गतिविधि र कृतिम अभाव सृजना गर्ने प्रवृत्तिलाई अन्त्य गर्न पनि सरकारलाई आग्रह गरे ।
सांसद चौधरीले उखु किसानका मुद्दा उठाउँदै विगतमा आफैंले उखुको मूल्य निर्धारण र प्रतिक्विन्टल रु. ७० को अतिरिक्त अनुदानको पहल गरेको स्मरण गराए । ‘उखुको मूल्य समयमा तोकिने, किसानलाई राहत दिने र अनुदानको व्यवस्था निरन्तर राख्न जरुरी छ,’ उनले भने ।








