नेपालको भूभाग र सार्वभौमिकता बचाउन संसद, दल र जनता एकजुट हुनुपर्छ : सांसद बडू

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालका सीमा, भौगोलिक अखण्डता र राष्ट्रिय सार्वभौमिकता जस्ता विषयमा संसद, राजनीतिक दल, नागरिक समाज र सञ्चार क्षेत्र एक ढिक्का भएर उभिनुपर्ने बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बडूले लिपुलेकलाई दुई देशबीचको व्यापारिक मार्ग बनाउने विषयमा भारत र चीनबीच भएको सहमतिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट आपत्ति जनाउनु राष्ट्रहितको पक्षमा भएको टिप्पणी गरे ।
‘प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र सचिवद्वारा जारी विज्ञप्तिअनुसार, प्रधानमन्त्रीले चीनमा चिनियाँ राष्ट्रपतिसँग नेपालको जानकारी, संलग्नता र सहमतिविना लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमति प्रति स्पष्ट आपत्ति जनाउनुभयो,’ सांसद बडूले भने, ‘यो प्रसंशनीय कार्यका लागि म प्रधानमन्त्री र सरकारलाई धन्यवाद दिन चाहन्छु ।’
सांसद बडूले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग भएको विषयमा पनि प्रधानमन्त्रीले चीनमा स्पष्ट अडान राखेको भन्दै समर्थन जनाए । उनले सुगौली सन्धिअनुसार महाकाली नदीको मुहान लिम्पियाधुरामा पर्ने र त्यसको माथिल्लो क्षेत्र नेपाली भूमि भएकाले त्यहाँ कुनै सम्झौता नेपालको सहमतिविना मान्य नहुने बताए ।
‘यो विषयमा सम्पूर्ण नेपाली जनता, राजनीतिक दल, संसद, नागरिक समाज र प्रेस जगत विगतमाझैं एकढिक्का छन् र रहिरहनेछन् भन्नेमा म विश्वस्त छु,’ बडूले जोड दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङसँगको भेटमा भारत–चीन सहमतिको विषयमा नेपालका धारणा प्रष्ट रूपमा राखेको जनाइएको छ ।








