निष्पक्ष, पारदर्शी र परिणाममुखि कार्यशैली अवलम्वन गर्छु : सभापति न्यौपाने

काठमाडौं । नवनिर्वाचित संघीय संसद प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले आफूले निष्पक्ष, पारदर्शी र परिणाममुखि कार्यशैली अवलम्वन गर्ने बताएकी छन् ।

मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकमा बोल्दै सभापति न्यौपानेले समितिलाई सबै सांसदहरूको सुझाव, सोच र सहभागिता लिएर अघि बढाउने बताइन् । उनले भनिन्, ‘समितिलाई व्यवस्थित ढंगले चलाउने मेरो कोशिस हुनेछ । म सफल हुनु भनेको एक्लै सफल हुनु होइन, सिंगो समिति सफल हुनु हो ।’

न्यौपानेले सबै सांसदको विचारलाई सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यकालभर कुनैपनि प्रकारको पक्षपात वा विभेद नगर्ने स्पष्ट संकेत दिइन् । ‘म पनि मान्छे हुँ, गल्ती हुन सक्छ । खुला रूपमा भन्नुहोस्, म सुन्छु र सच्याउँछु,’ उनले भनिन् ।

उनले विधेयक निर्माण, सुशासन प्रवद्र्धन र जनताको पक्षमा स्पष्ट रूपमा अडिग रहने दृढता पनि व्यक्त गरिन् ।‘म एककदम पनि पछाडि हट्ने छैन,’ उनले भनिन् ‘तपाईंहरूको सल्लाह, सुझाव र साथबाट समिति अझ सशक्त बन्नेछ ।’

सभापति न्यौपानेले सांसदहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गर्दै भनिन्, ‘व्यक्तिगत रूपमा होइन, सामूहिक रूपमा सफल हुनुपर्छ । समिति सबैको साझा प्लेटफर्म हो, यहाँ खुला बहस होस्, खुला संवाद होस् भन्ने मेरो चाहना छ ।’

बैठकमा सांसदहरूले सभापति न्यौपानेलाई बधाई ज्ञापन गर्दै उनको कार्यकालमा समितिको काम प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।

सभापतिले सबैको समर्थन र सहकार्यको अपेक्षा राख्दै आगामी बैठकहरूमा साझा एजेन्डा र जनपक्षीय नीति निर्माणमा प्राथमिकता दिने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =