राष्ट्रपतिलाई राजनीतिक दलमा आबद्ध हुन संविधानले रोक्दैन : एमाले उपाध्यक्ष पाण्डे

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिक दलमा आबद्ध हुन संविधानले नरोकेको बताएका छन् ।

सोमवार काठमाडौँमा आयोजित नेकपा एमालेको लोकतान्त्रीकरण विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले संविधानमा नरहेको व्यवस्थालाई कुनै एउटा पार्टीले विधान बनाएर र निर्णय गरेर रोक्न नमिल्ने बताए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा सक्रिय हुन सदस्यता नवीकरण गर्न पहल गरेसँगै नेकपा एमालेले उनको सदस्यता नवीकरण हुन नसक्ने निर्णय गरेको छ । राष्ट्रपति जस्तो गरिमामय पदमा बसिसकेको व्यक्ति पुनः राजनीतिक दलमा आउनुले व्यवस्थामाथि नै प्रश्न उठ्ने एमालेको ठम्याइ छ । तर कतिपय एमालेकै नेताहरू भने संविधानले नरोकेको कुरा पार्टीले रोक्न नमिल्ने र सदस्यता नवीकरण हुनुपर्ने माग गर्दै आएका छन् ।

पूर्वराष्ट्रपति भण्डारी पनि एमालेको सक्रिय नेताको रूपमा आफूलाई प्रचार गर्दै आएकी छन् । सोही बारेमा बोल्दै उपाध्यक्ष पाण्डेले विधान महाधिवेशनमा यसबारे आफूहरूले विषय उठान गर्ने बताए । संविधानले निर्वाचित भएको पद, मनोनीत भएको पद र नियुक्ति भएको पद राष्ट्रपति भएपछि स्वतः जान्छ मात्रै भनेको उनको भनाइ छ ।

उनले भने ‘आउने महाधिवेशनमा यो विषयमा हाम्रो प्रश्न हुनेछ । विधान महाधिवेशनभित्र कुरा उठ्नेछ । पार्टीका डकुमेन्टहरू पहिला नै आउने र छलफल गर्ने र सहमति भए सहमति हुन्छन्, भिन्न मत राख्न चाहनेका लागि भिन्न मत राख्ने वा कतिपय छलफलको कोर्समा दिएका सल्लाहरु समेटिएपछि ति कुराहरू मान्ने भन्ने हुन्छ । नेपालको संविधानले कोही व्यक्तिलाई पार्टीमा काम नगर्न निषेध गरेका छैन । राष्ट्रपतिलाई पनि पार्टीको सदस्य नहुनु भनेको छैन । संविधानले निर्वाचित भएको पद, मनोनीत भएको पद र नियुक्ति भएको पद राष्ट्रपति भएपछि स्वतः जान्छ भनेको छ । यी तीन कुरा बाहेक कुनै पार्टीमा लाग वा नलाग भनेर संविधानले भनेको छैन । संविधानले रोक्दै नरोकेको पार्टीमा लाग्न नपाउने भन्ने व्यवस्था अनि संविधानले नगरेको कुरा कुनै एउटा पार्टीले विधान बनाएर, निर्णय गरेर रोक्न मिल्छ र रु संविधानले रोकेको छैन । डेमोक्रेटिक राइटलाई उल्लङ्घन गर्ने काम कुनैपनि राजनीतिक दलले गर्न मिल्दैन ।’

लोकतान्त्रिक अधिकारलाई उल्लङ्घन गर्नेकुरा कुनै राजनीतिक दलहरूले गर्न नहुने पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 17 =