पार्टीका नेता कार्यकर्तालाई एमाले महासचिवको निर्देशन : वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्नू

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वडा तहसम्म पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिस्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उनले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न पनि हरेक वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्न सिङ्गो पार्टी पङ्क्तिलाई सचेत गराएका हुन् ।

अझै पनि पार्टीको काम पालिका तहसम्म मात्रै क्रियाशील रहेको उल्लेख गर्दै महासचिव पोखरेलले त्यसले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न नसक्ने बताए । उनले पार्टीको नीतिअनुसार जनमत तयार गर्नसक्दा मुलुकमा राजनीतिक अस्थिरताको सबै भन्दा ठुलो समस्या अझै पनि रहेकाले त्यसलाई अन्त्य गर्नेगरी पार्टी कामलाई तल्लो तहसम्म पुर्याउन आवश्यक रहेको पनि बताए ।

महासचिव पोखरेलले वडालाई पार्टी कामको केन्द्र बिन्दु बनाउने कुराले मात्रै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरण गर्न सकिने बताए । उनले एमालेको नीतिलाई राष्ट्रिय नीतिको रूपमा अघि बढाउने सामर्थ्य विकास हुने गरी पार्टी काममा लाग्नुपर्ने समेत बताए ।

महासचिव पोखरेलले भने ‘हामीले हाम्रो पार्टीमा टोल कमिटीको अवधारणा बनायौँ । तर टोल कमिटीको सन्दर्भको कुरा गर्दा हामी पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति कुरा त गर्दैछौं । तर निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि जग के हो ? भन्दा हाम्रो पार्टीको कामको बेस क्याम्प मान्दा वडा कमिटीलाई बेस क्याम्प मान्ने हो भने पुग्नुपर्ने ठाउँ हाम्रो टोल कमिटीहरू नै हाम्रो उद्देश्य पूरा गर्ने माध्यम बन्न सक्दछ । तर अझै पनि हामी वडालाई केन्द्रबिन्दु बनाएर पार्टी काम गर्ने अभ्यासतर्फ प्रवेश गर्न सकेका छैनौ । अझै पनि हाम्रो कामको क्षेत्र कहाँ सीमित छ भने धेरै तल गयो भने पालिका तहसम्म पुग्यो भने पार्टी क्रियाशील छ भन्ने प्रकारको बुझाई र निष्कर्ष हाम्रो हुने गरेको छ ।

यो प्रकारको पालिका तहसम्मको जीवन्तता नै पार्टीको सफलता भन्ने भन्ने कुरा हामी गयौँ भने प्रतिस्पर्धाका कारण श्रेष्ठता हासिल गर्ने नीतिमा हामी सफल हुन सक्छौ कि सक्दैनौ भन्दा सक्दैनौँ । म कमरेडहरूलाई के भन्न चाहन्छु भने नेपालको राजनीति भित्रको सबभन्दा ठुलो चुनौतीको रूपमा रहेको राजनीतिक अस्थिरता के कारणले जन्मिएको छ भन्दा हामीले जनमतलाई नीतिको आधारमा धुव्रिकरण गर्न नसक्दाको परिणाम हो । अर्थात् हाम्रो नीति जनमत धु्रविकरणको माध्यम अझै बन्न सकेको छैन । हामीले सबै भन्दा धेरै लोकप्रिय मत प्राप्त गरेको मत ३४/३५ प्रतिशत मात्रै हो । त्यो भन्दा धेरै मत प्राप्त गर्न सकेका छैनौँ । निर्णायक शक्ति निर्माणका लागि ३४ प्रतिशत मत मात्रै त्यो पनि सबभन्दा बढी लोकप्रिय भएका बेला हामी जनमतलाई ध्रुवीकरण गरिरहेका छौ भने हामीले निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्य हासिल गर्नका लागि अहिलेसम्म गरेका अभ्यासहरूबाट हामी उद्देश्य हासिल गर्न सक्दछौँ ? सक्दैनौँ ।

त्यस अर्थमा आवश्यकता के कुराको छ भने हामीले हाम्रो सङ्गठनात्मक प्रणालीलाई स्थापित गर्न जरुरी छ । जसलाई हामी शृङ्खलाबद्ध कमिटी प्रणालीको रूपमा त्यसको जगको रूपमा टोल तहका कमिटीहरूको सञ्जाल निर्माण गर्ने कुरा आजको पार्टी निर्माणको मूल पक्ष बन्नुपर्दछ । टोल तहसम्म पार्टीलाई निर्माण गर्ने हो भने हरेक वडामा हाम्रो पार्टी कार्यालय स्थापना भएको हुनु पर्दछ । म काठमाडौँका कमरेडहरूलाई भन्न चाहन्छु–यहाँका वडाहरूमा हामीले पार्टी कार्यालय निर्माण र सञ्चालन गर्ने सामर्थ्य जुटाउन सकेका छौ कि छैनौँ ? हरेक वडामा पार्टी कार्यालय निर्माण गर्ने र सञ्चालन गर्ने सामर्थ्य जुटाउन सकेका छैनौ भने हामी स्वाभाविक रूपमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको सामर्थ्य जुटाउन सकेका छैनौ । वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्ने कुरा गाह्रो छ भन्ने निष्कर्षमा हामी पुग्यौ भने हाम्रो क्षमता सीमित छ भनेर बुझ्नुपर्दछ । होइन हामी गरी छाडदछौं भन्ने हो भने त्यसले सामर्थ्य निर्माण गर्दछ । वडा तहमा पार्टी कार्यालय सञ्चालन गर्ने सामर्थ्यले नै पार्टी निर्माणलाई टोल तहसम्म विस्तार गर्ने आधार प्रदान गर्दछ भन्ने कुरालाई हामीले बुझ्नु पर्दछ ।

आजको सन्दर्भमा हामीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने कुराको सन्दर्भमा कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा यो पक्षलाई ध्यान दिनुपर्दछ भन्ने म राख्न चाहन्छु । निर्णायक राष्ट्रिय शक्ति भनेको के हो ? एमालेको नीति एमालेका लागि मात्रै हुनुचाँही निर्णायक होइन, एमालेको नीति राष्ट्रको नीति बनाउने सामर्थ्यको निर्माण हो । जतिबेला हामी एमालेको नीतिलाई राष्ट्रको नीति बनाउने सामर्थ्य राख्दछौँ । त्यतिबेला एमाले निर्णायक राष्ट्रिय शक्ति बन्दछ । यद्यपि अहिले पनि हाम्रो पार्टी सरकारको नेतृत्व गरिरहेको छ । तर हाम्रा नीतिहरूलाई राष्ट्रको नीति बनाउने एकल सामर्थ्यमा हामी पुगेका छैनौँ ।’

महासचिव पोखरेलले एमाले एमालेले जबजको नीति लिएको र त्यसलाई सामयिक बनाउँदै लैजानुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =