आयोगले अध्यक्ष रञ्जिता श्रेष्ठलाई वैधानिकता दिएपछि विवाद समाधान : प्रवक्ता पण्डित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय कार्यसमिति बैठक काठमाडौंमा सुरु भएको छ ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा आइतबारदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषय, विधान संशोधन, केन्द्रीय समितिको विस्तारलगायतका एजेन्डामा छलफल भइरहेको छ ।
पार्टीका प्रवक्ता दामोदर पण्डितले बैठकमा हालको राजनीतिक अवस्था, पार्टीभित्रको संगठनात्मक संरचना र विधान संशोधनलाई प्राथमिकता दिइएको जानकारी दिए । उनले बैठकमा कुनै पनि असन्तुष्ट समूह नभएको दाबी गर्दै निर्वाचन आयोगबाट अध्यक्ष रञ्जिता श्रेष्ठले वैधानिकता पाएसँगै विवाद टुंगिएको उल्लेख गरे ।
‘अहिले सन्तुष्ट र असन्तुष्ट भन्ने कुरा छैन । निर्वाचन आयोगले अध्यक्ष रञ्जितालाई वैधानिक मानेपछि त्यस्तो विवाद सकिएको छ,’ प्रवक्ता पण्डितले भने, ‘अब हाम्रो ध्यान पार्टीलाई संस्थागत रूपमा अगाडि बढाउनेमा केन्द्रित छ ।’
उनका अनुसार बैठकमा पुरानो विधान संशोधन गर्न तयार पारिएका प्रस्तावहरूमाथि छलफल हुनेछ । हाल २१ जना मात्र रहेका केन्द्रीय सदस्य संख्या विस्तार गरी अद्यावधिक गरिने कार्यक्रम समेत रहेको उनले बताए ।
‘हामी पार्टीको संरचना मजबुत बनाउन लागेका छौं । विधान संशोधनपछि केन्द्रीय समितिको विस्तार गर्नेछौं र त्यसलाई निर्वाचन आयोगमा अद्यावधिक गर्नेछौं,’ पण्डितले भने ।
तर, पार्टी संरक्षक रेशम चौधरी र उनको पक्षधर भने बैठकमा सहभागी छैनन् । लामो समयदेखि चौधरी र श्रेष्ठ पक्षबीच आन्तरिक विवाद रहँदै आएको थियो । रेशम चौधरी समूहले रञ्जिता श्रेष्ठविरुद्ध कारबाही समेत गरेका थिए, तर ती निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिएपछि श्रेष्ठ नेतृत्व कायम रहेको छ ।
नाउपाको केन्द्रीय समिति बैठक सोमबारसम्म चल्नेछ । बैठकले विधान संशोधनसहित आगामी रणनीतिमा केन्द्रित निर्णयहरू लिने तयारी गरेको छ ।








