पूर्वराष्ट्रपति भण्डारीले एमालेलाई कमजोर बनाउने गतिविधि गर्न मिल्दैन : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेलाई कमजोर बनाउने खालका कुनैपनि काम गर्न नहुने बताएका छन् ।

शनिवार प्रेस चौतारी नेपालले काठमाडौँमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले एमालेले राष्ट्रपति जस्तो सम्मानीत र गरिमामय पदमा पुर्याएकाले सो पार्टीलाई कमजोर बनाउने खालको गतिविधि पूर्वराष्ट्रपति भण्डारीले गर्न नहुने उनले जिकिर गरेको उपमहासचिव ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारी भण्डारीको पदीय गरिमा र व्यक्तित्वलाई सम्मान गर्न पनि दलगत राजनीतिमा आउन दिन नहुने तर्क गरे ।

उनले संविधानले पनि राष्ट्रपति, उपराष्ट्रपति जस्ता राष्ट्रको अभिभावकको रूपमा रहेका व्यक्तिलाई दलीय राजनीतिमा फर्कन नमिल्ने परिकल्पना गरेको समेत दोहोर्याए ।

राष्ट्रपति भइसकेको व्यक्ति दलीय राजनीतिमा फर्कने कुराले पदीय गरिमाको पनि न्याय नहुने उपमहासचिव ज्ञवालीको भनाई थियो । उनले पूर्व राष्ट्रपति भण्डारीप्रतिको पार्टीको सम्मान, आदरभाव र उनको योगदानप्रतिको सम्मानमा कुनै कमी हुन नदिने पनि बताए ।

उपमहासचिव ज्ञवालीले भने ‘राष्ट्रपति, उपराष्ट्रपति जस्ता उच्च ओहोदामा रहेका, जुन राष्ट्रको पनि एकदमै उच्च ओहोदा हो । जो गणतन्त्रका प्रतीकहरू पनि हुन । जहाँ जानका लागि पनि संविधानको धारा ६२ को उपधारा ६ हेर्नु भयो भने निर्वाचित भएको भएपनि, मनोनीत भएको भएपनि वा नियुक्त भएको होस् । जुनसुकै जिम्मेवारीमा भएपनि त्यो पदमा निर्वाचित हुने बित्तिकै त्यो सबै पदहरूबाट स्वतह मुक्त हुने संविधानको धारा ६२ को उपधारा ६ ले त्यो भन्छ । एउटा साझा सबैको आग्रह भन्दा माथिको राष्ट्रकै अभिभावकको परिकल्पना सो संविधानले गरेको छ । हाम्रो लोकतान्त्रिक प्रणालीले गरेको छ । त्यो ओहोदामा रहनुभएका व्यक्तित्वहरू फेरि फर्केर पार्टी राजनीतिमा, जहाँ दलीय इन्ट्रेष्टहरु हुन्छन् । दल भनेकै आफ्नो निश्चित राजनीतिक स्वार्थ पूरा गर्नका लागि बनेको संस्था हो । त्यो ठाउँमा आउँदा त्यो संस्थाको पनि गरिमा र त्यो व्यक्तिको पनि गरिमाको पनि न्याय गर्दैन । त्यो उचित हुँदैन भन्ने निष्कर्षका साथ हामीले एउटा प्रणाली बसाल्न खोज्यौँ । त्यो प्रणाली हामीले बसालेको हुनाले उहाँको सदस्यता नवीकरण भएको थियो, थिएन ? भन्ने प्रश्न नै अव तपसिलको प्रश्न भयो । अव यो विषयमा आइरहेका विभिन्न टिकाटिप्पणीहरुलाई हामीले हरिरहेका छौँ । हाम्रो सम्माननीय पूर्व राष्ट्रपतिज्यूप्रतिको सम्मान, आदरभाव र उहाँको योगदानप्रतिको उच्च मूल्याङ्कन यथावत् नै छ । जुन पार्टीबाट, जुन संस्थाबाट जुन जमिनमा टेकेर हामी त्यो ठाउँमा पुगेका हुन्छौँ । आफ्नो कुनै निश्चित चाहना पूरा भएनन् भने फर्केर त्यही संस्थालाई कमजोर गर्ने गरी कुनै पनि काम कसैले पनि गर्नु हुँदैन भन्ने कुरा हामीलाई थाहा छ । हामी उहाँलाई सिङ्गै देशको अभिभावकको रूपमा देख्न चाहन्छौँ ।’

उपमहासचिव ज्ञवालीले आगामी महाधिवेशनमा पनि पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नभएको पनि बताए । ओलीलाई पार्टीको नेतृत्वमा निरन्तरता दिने कुरामा पार्टी भित्र कुनै विवाद नरहेको पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =