रास्वपा नेता अरनिको पाँडेविरुद्ध मुद्दा दर्ता, थुनछेक बहस आजै सकिने सम्भावना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडेविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार मुद्दा दर्ता गरेको हो ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पाँडेको बयान सुरु भइसकेको छ । बयानपछि थुनछेक बहस हुनेछ । त्यसपछि पुर्पक्षका लागि पाँडेलाई थुनामा पठाउने वा धरौटी वा साधारण तारेखमा छाड्ने सम्बन्धी आदेश आउनेछ । सम्भवत आजै थुनछेक बहस सकिने स्रोतले जनाएको छ ।

पाँडेलाई बुधबार साँझ भोटाहिटीस्थित केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको थियो । उनलाई बेलायतमा बसोबास गर्ने एक महिलालाई इमेल र ह्वाट्स एपमार्फत अपशब्द प्रयोग गर्दै गाली गरेको आरोपमा पक्राउ गरिएको हो ।

ती महिलाले नेपाल आएर उजुरी दिएपछि प्रहरीले पक्राउ प्रक्रिया अघि बढाएको थियो । प्रहरीले दुबैबीच पहिलेबाट चिनजान रहेको र सम्बन्ध बिग्रिएपछि विवाद चुलिएको जनाएको छ ।

अदालतले बिहीबार मात्रै पाँडेलाई चार दिनको म्याद दिँदै हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर, समान प्रकृतिका मुद्दामा एमाले नेता ऐन महरालाई हाजिरी जमानीमा छाडिएको तर पाँडेलाई भने हिरासतमा राखिएको भन्दै आलोचना भएको थियो । त्यसैका कारण फास्ट ट्रयाकमै मुद्दा अघि बढाइएको स्रोतको भनाइ छ ।

वातावरणविद् पाँडे २०७९ भदौमा रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका थिए । उनी २०८० सालमा रास्वपा सरकारमा सहभागी हुँदा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =