ऋषि पञ्चमी

नारीले गरे सप्तऋषिको पूजा-आराधना, पापमोचनको कामना (तस्बिरहरू)

काठमाडौं । वैदिक सनातन हिन्दू परम्पराअनुसार भाद्र शुक्ल पञ्चमीका दिन आज हिन्दू नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा-आराधना गरी ऋषिपञ्चमी पर्व मनाएका छन् । यस दिन गरिने विशेष पूजाले रजस्वलाका समयमा हुन सक्ने त्रुटि तथा अन्य पापबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ ।

प्रत्येक वर्ष तीजको व्रत समापन भएकै भोलिपल्ट मनाइने यो पर्वमा महिलाहरूले बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया वा पोखरीमा गई विशेष स्नान गर्दछन् । परम्पराअनुसार, ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, चोखो माटो एवं खरानी लगाई शुद्ध भई स्नान गर्ने प्रचलन छ । यसरी स्नान गर्दा वर्षभरि जानी नजानी भएका पाप पखालिने विश्वास गरिन्छ ।

स्नान पश्चात शुद्ध वस्त्र धारण गरी अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्र लगायतका सप्तऋषिहरूको पूजा-आराधना गरिन्छ । अविवाहित तथा विवाहित दुवै नारीहरूले यो व्रत निष्ठापूर्वक पालन गर्दछन् । विशेषगरी, महिलाहरूले मासिक धर्मका क्रममा हुन सक्ने त्रुटिहरूबाट मुक्ति पाउनका लागि यो व्रत बस्ने शास्त्रीय मान्यता छ ।

ऋषिपञ्चमीका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न ऋषिपञ्चमी मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको थियो । गौरीघाट, टेकुस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि महिला भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + two =