विपिन जोशीको रिहाइ प्रयास तीव्र, राष्ट्रपति पौडेलले पठाए जोर्डनका राजालाई विशेष पत्र

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि कूटनीतिक पहललाई तीव्रता दिएका छन् । उनले मंगलबार जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई एक विशेष पत्र पठाउँदै जोशीको रिहाइका लागि आवश्यक सबै पहल गरिदिन आग्रह गरेका हुन् ।
राष्ट्रपति कार्यालयले जनाएअनुसार, उक्त पत्रमा राष्ट्रपति पौडेलले बन्धक जोशीको हालको अवस्था पहिचान गर्ने, उनको सुरक्षित रिहाइ सुनिश्चित गर्ने तथा स्वदेश फिर्तीका लागि यथासम्भव सहयोग गर्न जोर्डनी राजासमक्ष अनुरोध गरेका छन् ।
साथै, जोर्डनी समकक्षीले चाल्ने कुनै पनि मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसाका साथ स्वागत गर्ने कुरा पनि राष्ट्रपतिले पत्रमा उल्लेख गरेका छन् । मध्यपूर्वमा शान्ति र स्थायित्वका लागि जोर्डनले खेल्दै आएको भूमिकाको सराहना गर्दै राष्ट्रपतिले यो मानवीय संकटमा सहयोगको अपेक्षा गरेका हुन् ।
यो कूटनीतिक पहल जोशीको परिवारले राष्ट्रपतिलाई भेटेर गुहार गरेपछि आएको हो । गत आइतबार जोशीकी आमा र बहिनीले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेट गरी आफ्नो छोराको जीवनरक्षा र रिहाइका लागि पहल गरिदिन भावुक आग्रह गरेका थिए ।
सो अवसरमा राष्ट्रपति पौडेलले परिवारलाई सान्त्वना दिँदै जोशीको रिहाइका लागि आफूले हरसम्भव थप प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही प्रतिबद्धताअनुरूप राष्ट्रपतिले उच्चस्तरीय कूटनीतिक माध्यमबाट बन्धक विद्यार्थीको मुक्तिका लागि पहल थालेका हुन् ।








