तिजमा ‘जनै हराएको मान्छे’ हेर्न दर्शकको सुखद् उपस्थिति

काठमाडौं । शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ हेर्न दर्शकको उपस्थिति सुखद् देखिएको छ ।
आज हरितालिका तिजको दिनमा बिहानैदेखि हलहरुमा दर्शकहरुको बाक्लो उपस्थिति रहेको निर्माण पक्षले जनाएको छ ।
राजधानी काठमाडौंसहित विराटनगर, पोखरा, बुटवल, चितवन र नेपालगञ्जलगायतका सहरमा दर्शकको राम्रो चाप रहेको निर्देशक हिमाल न्यौपानेले जानकारी दिए ।
‘सपरिवार आउने दर्शक धेरै पाएका छौं,’ निर्देशक न्यौपानेले भने, ‘अपराह्नपछि हलहरूमा दर्शकको संख्या अझै बढिरहेको छ ।’
फिल्मको व्यापार भने हालसम्म औसत रहन पुगेको भए पनि दर्शकबाट आएको प्रतिक्रिया सकारात्मक रहेको निर्माण पक्षको दाबी छ । सामाजिक सञ्जालमा फिल्म हेरेर भावुक भएका दर्शकहरूको भिडिओ तथा पोस्टहरू देखिन थालेका छन् ।
पारिवारिक सम्बन्ध र सामाजिक यथार्थको संवेदनशील चित्रण भएकोले दर्शकहरूलाई कथा मन परेको प्रतिक्रिया आइरहेको छ । विशेष गरी आमाबुबा र सन्तानबीचको सम्बन्धमा आधारित फिल्मले नेपाली समाजको मौलिकतामा आधारित सन्देश दिन खोजेको देखिन्छ ।
यस चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरूना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रूपेश लामा र सुमन थापाको अभिनय रहेको छ ।
फिल्मको निर्देशन हिमाल न्यौपानेले गरेका हुन् भने नारायण तिमिल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन निर्माण टिममा छन् ।
‘जनै हराएको मान्छे’ ले नेपाली समाजको पारिवारिक संरचना, परम्परा र भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको मार्मिक फिल्मको रूपमा चर्चा बटुलिरहेको छ ।








