केन्द्रीय अनुशासन आयोगले गर्‍यो सह-संयोजक सञ्जीवलाई ६ महिनाका लागि निलम्बन

समानान्तर कमिटी गठन गरी अनुशासन तोडेको आरोप, कारबाहीमा सम्मानित नेता खनालको नाम मुछियो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट भातृ संगठन युवा संघ नेपालभित्रको आन्तरिक कलहले उग्र रूप लिएको छ । संगठनको केन्द्रीय अनुशासन आयोगले संघका सह-संयोजक संजीव राईलाई साधारण सदस्यसमेत नरहने गरी ६ महिनाका लागि निलम्बन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ।

आयोगले भदौ ८ गते केन्द्रीय कमिटीलाई पठाएको पत्रअनुसार, संघका इन्चार्ज लक्ष्मण के.सी.को सिफारिसमा नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन भएलगत्तै राईले त्यसको विरुद्धमा समानान्तर कमिटी गठन गरी अराजक गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ । यस विषयमा आयोगले भदौ ३ गते राईलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न पत्राचार गरेको थियो ।

र, उनले स्पष्टीकरण दिनुको सट्टा सामाजिक सञ्जालमार्फत संगठनको आन्तरिक जीवनलाई तहसनहस पार्ने र भ्रम सिर्जना गर्ने गतिविधि जारी राखेको आयोगको ठहर छ । आयोगका अध्यक्ष विकल के.सी.द्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘संघको विधानविपरीत अराजक गतिविधिमा सामेल भएकोले कमरेड संजीव राईलाई संघको विधान २०७९ को धारा १६.७ (च) अनुसार छ महिनाको लागि संघको साधारण सदस्यसमेत नरहने गरी निलम्बनका लागि केन्द्रीय कमिटी समक्ष अनुरोध गर्दछु ।’

विवादमा झलनाथ खनालको नाम
यसैबीच, संस्थापन पक्षले यो विवादमा पार्टीका सम्मानित नेता झलनाथ खनालको संलग्नता रहेको दाबी गरेको छ । खनालले आफ्नो छोरा निर्भीक खनाललाई राजनीतिमा स्थापित गर्न राईलाई समानान्तर कमिटी बनाउन लगाएको संस्थापन पक्षको आरोप छ । राईले नेतृत्व गरेको भनिएको समानान्तर कमिटीमा निर्भीक उपाध्यक्ष छन्, जबकी उनको युवा संघको आधिकारिक संरचनामा कुनै पदीय जिम्मेवारी छैन ।

राई र निर्भीक खनालबीच व्यावसायिक साझेदारीसमेत रहेको र उनीहरू संलग्न केही ठेक्कापट्टाका कम्पनी कालोसूचीमा परेको दाबीसमेत संस्थापन पक्षले गर्दै आएको छ । यो कारबाहीसँगै युवा संघभित्रको गुटगत संघर्ष सतहमा आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =