कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरूको बैठक बोलाएका छन् ।
सोमबार बिहान १० बजे बुढानीलकण्ठस्थित देउवा निवासमा बस्ने बैठकमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार चयन र उपसभामुख इन्दिरा रानामगरविरुद्ध भइरहेको हस्ताक्षर संकलनबारे छलफल हुने भएको छ ।
कांग्रेसका एक पदाधिकारीका अनुसार, बैठकमा समिति सभापति चयनका लागि पार्टीको तयारीबारे निर्णय गर्ने र उपसभामुखमाथि उठेको पदीय आचरणसम्बन्धी विवादबारे पार्टीको आधिकारिक धारणा तय गर्ने प्रयास हुनेछ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका तत्कालीन सभापति रामहरि खतिवडाले गत साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधान मिलाउँदा देखिएको विवादपछि पदबाट राजीनामा दिएका थिए ।
प्रतिनिधिसभा नियमावलीको नियम १७७(५) अनुसार समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार भदौ ११ गतेभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने समयसीमा नजिकिँदै गर्दा संघीय संसद् सचिवालयले आज निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।
यता उपसभामुख इन्दिरा रानामगरले पदीय मर्यादा विपरीत काम गरेको भन्दै नेकपा एमाले र कांग्रेसका सांसदहरूले हस्ताक्षर सङ्कलन गरिरहेका छन् । तर उक्त प्रयासप्रति कांग्रेसभित्रकै इतर समूहका नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले असन्तुष्टि जनाएका छन् ।
पार्टीभित्र उत्पन्न मतभेद र रणनीति एकरूपता बनाउन देउवाले बैठक बोलाएको बुझिएको छ । बैठकमा नयाँ समिति सभापतिको उम्मेदवार चयनका साथै रानामगरमाथि पार्टीको औपचारिक धारणा तय गर्ने तयारी रहेको जनाइएको छ ।








