नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, तुइनखोलामा चट्टानसहितको सुख्खा पहिरो

चितवन । देशको प्रमुख राजमार्ग नारायणगढ-मुग्लिन सडकखण्ड आज बिहानैदेखि पुनः अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-५ स्थित तुइनखोलामा चट्टानसहितको सुख्खा पहिरो खस्दा सडक दुईतर्फी रूपमा ठप्प भएको हो ।

सडक अवरुद्ध भएसँगै विभिन्न गन्तव्यका लागि हिँडेका सयौँ सवारीसाधन र यात्रुहरू बाटोमै रोकिएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, आज बिहान ६:३५ बजेको समयमा माथिबाट एक्कासी ठूलो चट्टानसहितको पहिरो खसेको थियो ।

प्रहरी निरीक्षक प्रतीक सिंहले पहिरो खस्नेबित्तिकै प्रहरीको विपद् व्यवस्थापन टोली घटनास्थलमा खटिएको जानकारी दिए । ‘पहिरो पन्छाएर यथाशीघ्र सडक सुचारु गराउने प्रयास भइरहेको छ,’ प्रहरी निरीक्षक सिंहले भने, ‘त्यसका लागि एक्स्काभेटर परिचालन गरी काम सुरु गरिसकिएको छ ।’

यो सडकखण्ड वर्षायाममा मात्र नभई सुख्खा समयमा समेत पटक-पटक पहिरोका कारण अवरुद्ध हुँदै आएको छ, जसले गर्दा यात्रुहरूले वर्षेनी सास्ती खेप्दै आएका छन् । पहिरोका कारण सवारीसाधन रोकिएपछि राजमार्गमा लामो जाम सिर्जना भएको छ । प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न वा धैर्य धारण गरेर बस्न यात्रुहरूलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =