नाडा अटो शोमा दर्शकको ओइरो, तीन दिनमै करिब ८० हजारले गरे अवलोकन

काठमाडौँ । संघीय राजधानी काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ ले अवलोकनकर्ताको उपस्थितिमा नयाँ कीर्तिमान कायम गरेको छ । आर्थिक क्षेत्रमा देखिएका विविध चुनौती र कठिनाइका बाबजुद शोको पहिलो तीन दिनमै ७८ हजार ५१३ जनाले अवलोकन गर्दै यस संस्करणलाई ऐतिहासिक बनाएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अनुसार यो अभूतपूर्व सहभागिताले नेपाली जनतामा अटोमोबाइल क्षेत्रप्रतिको गहिरो लगाव, विश्वास र उत्साहलाई पुनः एकपटक प्रमाणित गरेको छ । चुनौतीपूर्ण समयमा पनि अटो शोले पाएको यो अपार सफलताले समग्र अटोमोबाइल उद्योगलाई नै उत्साहित बनाएको नाडाको भनाइ छ ।

यस ऐतिहासिक उपलब्धिलाई लिएर नाडाका अध्यक्ष करण चौधरीले खुसी व्यक्त गर्दै यसलाई एउटा नयाँ सुरुवातको संज्ञा दिएका छन् । ‘म यो उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिन्छु,’ अध्यक्ष चौधरीले भने, ‘यसले हाम्रो अपेक्षालाई अझ उचालेको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन तथा भविष्य-उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउने हाम्रो आत्मविश्वासलाई थप मजबुत बनाएको छ ।’

अध्यक्ष चौधरीले यो ऐतिहासिक सफलताको पछाडि प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी र सबैभन्दा महत्त्वपूर्ण, अवलोकनकर्ताहरूको अमूल्य योगदान रहेको भन्दै सबैप्रति कृतज्ञता र आभार प्रकट गरेका छन् । शोमा देखिएको उत्साहले आगामी दिनमा अटोमोबाइल क्षेत्रलाई थप गतिशील बनाउन प्रेरणा मिलेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + one =