यी पाँच प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मनसुनको न्यून चापीय रेखा नेपालको सरदर स्थान नजिकै सक्रिय रहँदा देशभरको मौसममा बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले हाल देशका अधिकांश पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ ।
महाशाखाले जारी गरेको पछिल्लो बुलेटिनअनुसार अहिले बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पनि पानी परिरहेको छ ।
आज दिउँसो देशभर मौसम सामान्यतया बदली रहनेछ । विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा देशका अन्य पहाडी भू-भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । यी चार प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको समेत सम्भावना औँल्याइएको छ ।
आज राति पनि देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ । रातिको समयमा पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रका नदीनालामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहने र सडक यातायात प्रभावित हुन सक्ने भन्दै महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । यात्रामा निस्कनुअघि पछिल्लो मौसमी सूचनाको जानकारी लिएर मात्रै योजना बनाउन पनि अनुरोध गरिएको छ ।








