राजनीतिक दलहरूभित्र विकृति, विसंगति फस्टायो : विद्यादेवी भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूभित्र विकृति, विसंगति फस्टाएको बताएकी छन् ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले राजनीतिमा रहेको विकृतिलाई समाधान गर्न राजनीतिक दलहरूले नसकेको बताइन् । उनले सरकारले सुशासन प्रवर्द्धन गर्न नसकेको बताउँदै राजनीतिक दल अहिलेको प्रणालीअनुसार अघि बढ्न नसकेको बताइन् । संसद अहिले निरीह थलो भएको बताइन् । उनले कानुनहरू समयानुकूल कस्तो बनाउनुपर्ने भन्नेकुरामा ध्यानपूर्वक अध्ययन नै नभएको जिकिर गरिन् ।
ठुला दलहरू आफैँले अहिलेको संविधानमा प्रश्न उठाएर संविधान संशोधन गर्ने सहमति गरेपनि संविधानमा के अभाव रह्यो, के आवश्यकता छ भनेर छलफल हुन नसकेको बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले भनिन् ‘राजनीतिक दलहरूभित्र विकृति, विसंगति फस्टाएको छ । त्यो पनि फस्टाइरहेको छ । त्यसलाई समाधान गर्न सकिरहेका छैनन् । सुशासन प्रवर्द्धन गर्न सकिरहेका छैनन् । राजनीतिक दल एउटा प्रणालीमा जसरी जानुपर्ने हो, त्यो जान सकेको छैन । राज्यका संयन्त्रहरू पनि जुन प्रणालीमा सञ्चालन हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन । अहिले संसदीय अभ्यासको कुरा गर्दा संसद नै एउटा निरीह थलो भएर बसिरहेको छ । कानुनहरू समयानुकूल कस्तो बनाउनुपर्ने भन्नेकुरामा ध्यानपूर्वक अध्ययन गरिरहेको छैन । ठुला दलहरू आफैँले अहिलेको संविधानमा प्रश्न उठाए । र संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन् तर पनि संविधानमा के अभाव रह्यो, के आवश्यकता छ भनेर छलफल हुन सकिरहेको छैन । कुनै व्यक्तिलाई केही आरोप लाग्यो आरोप लगेको छ, पुष्टि भएको छैन, उ बोल्न पाउँदैन, निलम्बित भइहाल्छ, के यही हो न्याय ? कसैले आरोप लगायो भन्दैमा जनप्रतिनिधिहरू निलम्बनमा परिहाल्ने व्यवस्था कस्तो लोकतन्त्र हो ? कुनै आरोप पुष्टि नहुन्जेलसम्म निलम्बनमा पार्नु राम्रो होइन ।’
पूर्वराष्ट्रपति भण्डारीले शिक्षा सम्बन्धी समस्या नेपालमा ठुलो समस्या रहेको बताइन् ।








