शिक्षालाई राजनीतिबाट मुक्त गरी समाजवादउन्मुख बनाउनुपर्छ : सांसद यादव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्र राय यादवले शिक्षा क्षेत्रलाई राजनीतिबाट सधैँका लागि मुक्त गर्नुपर्नेमा जोड दिएका छन् । देश र संविधान समाजवादउन्मुख भएकाले शिक्षालाई पनि पुँजीवादी र निजीकरणतर्फ लैजान नहुने उनको भनाइ थियो ।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि बोल्दै उनले यस्तो बताएका हुन् । उनले समतामूलक समाज निर्माणका लागि पुरानो मानसिकता त्याग्नुपर्ने बताए । ‘देश र संविधान समाजवादउन्मुख हुनुपर्छ । शिक्षा पनि समाजवादउन्मुखतिर जानुपर्ने हो,’ उनले भने, ‘पुँजीवादीतिर निजीतिर जुन गएको देखिन्छ, यो गैरमुनाफा नै रहोस् ।’

उनले निजी विद्यालयलाई क्रमशः गुठीमा लैजाने प्रावधानलाई यथावत् राख्न पनि माग गरे । सांसद यादवले प्रदेशलाई अधिकार दिने कुरामा पनि विधेयकमा विरोधाभास रहेको औंल्याए । प्रदेश स्तरमा एसईई परीक्षा सञ्चालन हुने तर त्यसको बोर्डमा नेपाल सरकारले नियुक्ति गर्ने प्रावधानले शिक्षामा राजनीतिकरणलाई नै निरन्तरता दिने उनको तर्क थियो । ‘बोर्डको गठन हुने, प्रदेशमा सबै जाने, प्रदेशले एसईई हुने, तर बोर्डको नियुक्ति नेपाल सरकारले किन गर्छ ?’ उनले प्रश्न गरे, ‘शिक्षा क्षेत्रलाई सधैँ राजनीति मुक्त गरौँ ।’

उनले पिछडिएको क्षेत्रको परिभाषा गर्दा भूगोललाई मात्र नभई मानव सूचकांकमा पछाडि परेका शैक्षिक र आर्थिक क्षेत्रलाई पनि आधार मान्नुपर्ने बताए । समग्रमा शिक्षाको गुणस्तर वृद्धि हुने गरी विधेयकलाई अन्तिम रूप दिनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 8 =