देशभर मनसुन कमजोर, तर बागमती र कोशी प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं । मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ सर्दा देशभर मनसुनी गतिविधि कमजोर बनेको छ । अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने भए पनि बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, मनसुन कमजोर हुँदा देशैभरि निरन्तर र व्यापक वर्षाको सम्भावना तत्कालका लागि टरेको छ। तर, स्थानीय वायु र जलवाष्पको प्रभावले आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने तराईका क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
आज दिउँसो विशेषगरी बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ। यी क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। यसबाहेक, देशका अन्य पहाडी भूभागका थोरै स्थान र तराईका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले भारी वर्षा हुन सक्ने क्षेत्रहरूमा पहिरो, आकस्मिक बाढी तथा सडक यातायातमा अवरोध आउन सक्ने जोखिम औंल्याउँदै यात्रा गर्दा र खोलानालाको छेउमा रहँदा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। सर्वसाधारणलाई मौसमसम्बन्धी पछिल्लो सूचनामा ध्यान दिन पनि महाशाखाले आग्रह गरेको छ।
हाल बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।








