‘फोर्टी अन्डर ४०’ मा होर इ–स्पोट्र्सका सञ्जन गौतम सम्मानित

काठमाडौँ । सीआर सेभेन होर नामले परिचित होर इ–स्पोट्र्सका संस्थापक तथा ओनर सञ्जन गौतम ‘फोर्टी अन्डर ४०’ २०८२ मा सम्मानित भएका छन्।

नेपालमा इ–स्पोट्र्सको विकास र पहिचानमा उनले पुर्याएको योगदानको कदर गर्दै अनलाइनखबरले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई विशेष सम्मान गरेका हुन् ।

राजनीति, समाज, कला–साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यमशीलता र प्रवास लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका ४० वर्षमुनिका ४० व्यक्तिलाई सम्मान गरिने ‘फोर्टी अन्डर ४०’ को यो दोस्रो संस्करण हो ।

हालै सम्पन्न पब्जी मोबाइल वल्र्ड च्याम्पियनसिप पीएमडब्लूसी २०२५ मा होर इ–स्पोट्र्सले नेपालको प्रतिनिधित्व गर्दै ऐतिहासिक सफलता हासिल गरेको थियो। साउदी अरबको रियादमा भएको उक्त अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विश्वका उत्कृष्ट टोलीहरूमाझ प्रतिस्पर्धा गर्दै नेपाली टोलीले उत्कृष्ट कौशल र रणनीति देखाउँदै नवौँ स्थान सुरक्षित गरेको थियो । सो उपलब्धिसँगै होर इ–स्पोट्र्सको टिमले करिब १ करोड ७८ लाख रुपैयाँ नगद पुरस्कार जितेको थियो, जुन नेपाली इ–स्पोट्र्स इतिहासकै सबैभन्दा ठुलो उपलब्धिमध्ये एक मानिन्छ ।

यस सफलताले नेपालको इ–स्पोट्र्स उद्योगका लागि नयाँ बाटो खोलेको छ । अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभा विश्वकै उत्कृष्ट टोलीसँग काँधमा काँध मिलाएर प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएको यसले प्रमाणित गरिदिएको छ । यस उपलब्धिले हजारौँ युवा गेमरलाई प्रेरित गरेको छ र नेपाललाई अन्तर्राष्ट्रिय इ–स्पोट्र्सको मानचित्रमा दृढ रूपमा स्थापित गरिदिएको छ।

पब्जी मोबाइल साउथ एसिया पब्लिशिङका लिड आइज्याकले भने, ‘२०८२ को ‘फोर्टी अन्डर ४०’अन्तर्गत सम्मानित भएकोमा सञ्जन गौतमलाई हार्दिक बधाई दिन चाहन्छौँ । होर इ–स्पोट्र्समार्फत नेपालमा इ–स्पोट्र्सको विकासमा उनले पुर्याएको योगदान उल्लेखनीय छ । टेन्सेन्टले इ–स्पोट्र्सको क्षेत्रमा यस्तै दूरदर्शी प्लेयरहरूलाई समर्थन गर्दै आएको छ । होर इ–स्पोट्र्स, डीआरएस गेमिङ र ट्राइब एरोमेसी जस्ता टोलीमार्फत नेपाल अन्तर्राष्ट्रिय स्तरमा उदाउँदो शक्ति बन्दै गएको छ । त्यस्तै हामीले हिजो सम्पन्न गरेको पब्जी मोबाइल नेशनल च्याम्पियनसिप साउथ एसिया फल २०२५ मा नेपालका २ नयाँ टोली विजयी बनेका छन् । यी दुवै टोलीले अर्को महिना हुने पब्जी मोबाइल सेन्ट्रल एण्ड साउथ एसिया फल सिजनमा होर इ–स्पोट्र्र्ससँगै नेपालको प्रतिनिधित्व गर्दै २०२५ को पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपका लागि प्रतिस्पर्धा गर्नेछन् ।’

इ–स्पोट्र्सलाई युवाहरूका लागि वैध र दिगो करियर विकल्प बनाउन गौतम लामो समयदेखि सक्रिय छन् । होर इ–स्पोट्र्सबाट उनले व्यवस्थित कार्यक्रम र रणनीतिक नेतृत्वद्वारा यस्ता विश्वस्तरीय प्रतिभा उत्पादन गरेका छन्, जसले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने क्षमता राख्दछन् ।

सामान्य गेमरबाट सुरु भएको गौतमको अन्तर्राष्ट्रिय यात्राले दृष्टि, समर्पण र धैर्यता भए नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 9 =