नाडा अटो शोमा बीवाईडीको नयाँ विद्युतीय एसयूभी ‘एट्टो २’ सार्वजनिक, मूल्य ४३.९९ लाख

काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा आफ्नो प्रभुत्व कायम राख्दै आएको बीवाईडीले नाडा अटो शो २०२५ को अवसरमा आफ्नो नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ‘एट्टो २’ सार्वजनिक गरेको छ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले यसलाई हालसम्मकै सबैभन्दा पहुँचयोग्य मूल्यको एसयूभी भएको दाबी गरेको छ ।

नाडा अटो शोको भव्य समारोहमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले बीवाईडी एट्टो २ को अनावरण गरेका थिए । कार्यक्रममा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, बीवाईडी नेपालका ब्रान्ड एम्बेसेडर हरिवंश आचार्य तथा ब्रान्ड इन्डोर्सर अस्मी श्रेष्ठको उपस्थिति थियो ।

कम्पनीका अनुसार, बीवाईडी एट्टो २ विशेषगरी युवा व्यवसायी र पारिवारिक प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको हो। यसको कम्प्याक्ट डिजाइन, सहज ह्यान्डलिङ र एसयूभीको व्यावहारिकताले शहरी र शहरोन्मुख क्षेत्रका लागि यो एक उत्तम विकल्प बन्न सक्ने देखिन्छ । यसको प्रारम्भिक मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ, जसमा ७ किलोवाटको वाल-माउन्टेड चार्जर पनि समावेश छ ।

एट्टो २ मा बीवाईडीको विश्वप्रसिद्ध ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ । ५१.१३ किलोवाट आवरको ब्याट्रीले एक पटकको फुल चार्जमा ३४५ किलोमिटर (WLTP) को रेन्ज प्रदान गर्दछ। यसमा रहेको १०० किलोवाटको मोटरले २९० एनएम टर्क उत्पन्न गर्छ, जसले गर्दा गाडीले मात्र ९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । ४,३१० एमएम लम्बाइ र २०० एमएमको ग्राउन्ड क्लियरेन्सले यसलाई नेपाली सडकका लागि उपयुक्त बनाएको छ ।

यसको बाहिरी डिजाइन निकै आकर्षक र बोल्ड देखिन्छ । फुल एलईडी हेडलाइट, फ्लोटिङ रुफलाइन र पछाडिको भागमा अंग्रेजी अक्षर ‘8’ जस्तो देखिने ‘मोबियस इन्फिनिटी रिङ’ डिजाइनको रुफ स्पोइलरले यसलाई युवापुस्तामाझ लोकप्रिय बनाउने अपेक्षा छ । गाडीको भित्री भाग प्रिमियम र प्रविधियुक्त छ। १२.८ इन्चको इन्टेलिजेन्ट रोटेटिङ टचस्क्रिन, एप्पल कारप्ले र एन्ड्रोइड अटो, भेन्टिलेटेड सिट र वायरलेस चार्जिङजस्ता सुविधाले यात्रालाई आरामदायी बनाउँछन् ।

सुरक्षाको दृष्टिकोणले एट्टो २ मा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) जडान गरिएको छ, जसमा एडेप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, अटो इमर्जेन्सी ब्रेकिङजस्ता अत्याधुनिक फिचरहरू समावेश छन् । यसका साथै ६ वटा एयरब्याग, ३६० डिग्री भ्यु मोनिटर र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलले यसलाई आफ्नो सेग्मेन्टमा सुरक्षित गाडीको रूपमा स्थापित गरेको छ ।

नाडा अटो शोमा विशेष अफर
नाडा अटो शो २०२५ मा एट्टो २ बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले विशेष अफर ल्याएको छ, जसमा निःशुल्क एक वर्षको बीमा, ३.३ किलोवाटको पोर्टेबल चार्जर, १० वर्षको विस्तारित वारेन्टी र अन्य एसेसरिज प्याकेज समावेश छन् ।

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले एट्टो २ ले सबै नेपाली ग्राहकमाझ विद्युतीय एसयूभीको पहुँच विस्तार गर्ने विश्वास व्यक्त गरेका छन् । यो गाडी चार रङहरू ब्रिज ग्रीन, हार्बर ग्रे, कसमस ब्ल्याक र स्की ह्वाइटमा उपलब्ध छ र देशभरका बीवाईडी शोरुमबाट बुकिङ खुला गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =