१० करोडको चेक बाउन्स मुद्दामा राजु गोर्खाली ५ दिन हिरासतमा रहने

काठमाडौं । १० करोड रुपैयाँ बराबरको चेक बाउन्स मुद्दामा पक्राउ परेका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) विरुद्ध ५ दिनको म्याद थप भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई चन्द्रागिरीबाट पक्राउ गरेको थियो । त्यसपछि उनलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।
प्रहरीका अनुसार गोर्खालीले १० करोड रुपैयाँ बराबरको चेक कुन प्रयोजनका लागि जारी गरे भन्ने विषय पनि हाल अनुसन्धानकै हिस्सा हो । प्रहरी स्रोतले गोर्खालीको आर्थिक कारोबार, सम्बन्धित पक्ष र लेनदेनको पृष्ठभूमि समेत खोतलिँदै गरेको जनाएको छ ।
गोर्खाली २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिसमा परेका थिए । यद्यपि, अन्तिम चरणमा उनी उम्मेदवार बन्न सकेनन् ।
२०५८ सालमा रोशन लिम्बुको सुन्धारास्थित बेबी लोन डिस्कोमा हत्या गरिएको घटनामा गोर्खाली प्रत्यक्ष संलग्न रहेका थिए । घटनामा उनले तरबार प्रहार गरी लिम्बुको हत्या गरेको ठहर गर्दै १० वर्ष जेल सजाय भुक्तान गरेका थिए ।
गोर्खालीको नाम समय–समयमा गुन्डागर्दी, अवैध हातहतियार र लेनदेन सम्बन्धी अपराधमा जोडिँदै आएको छ । कारागारबाट छुटेपछि पनि उनी पटक–पटक विभिन्न अभियोगमा प्रहरी फन्दामा परेका छन् ।








