राजर्षि जनक विश्वविद्यालयका समस्या समाधानमा सरकार प्रतिबद्ध: शिक्षामन्त्री

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान र शैक्षिक सुधारका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
विश्वविद्यालयको वस्तुस्थिति बुझ्न र आगामी कार्यदिशाबारे छलफल गर्न जनकपुर पुगेका मन्त्री पोखरेलले विश्वविद्यालयलाई थप परिष्कृत र व्यवस्थित ढङ्गले अगाडि बढाउने बताएका हुन् ।
विश्वविद्यालयका पदाधिकारीहरूसँगको परामर्शका क्रममा मन्त्री पोखरेलले विशेषगरी भौतिक पूर्वाधार निर्माण र जग्गा प्राप्तिको विषयमा चासो व्यक्त गरे । विश्वविद्यालयको आफ्नै भवन नहुँदा परेका कठिनाइहरूबारे चर्चा गर्दै उनले जग्गा प्राप्तिको कानूनी प्रक्रियालाई छिटोभन्दा छिटो टुङ्ग्याएर निर्माण कार्य शुरु गरिने आश्वासन दिए । ‘आज हामी उपकुलपतिज्यूसँग छलफल गरी विश्वविद्यालयका समस्या, विशेषगरी जग्गा व्यवस्थापन र आफ्नै भवन निर्माणका विषयमा आवश्यक परामर्श गरेका छौँ । यी कामलाई शीघ्र अघि बढाउने तयारी भइरहेको छ । यसअघि जनकपुर भ्रमणका क्रममा विद्यालयका विद्यार्थीहरूले खेल सामग्रीको अभावबारे गुनासो गर्नुभएको थियो’ उनले भने ।
भ्रमणका क्रममा मन्त्री पोखरेलले विद्यार्थीलाई विभिन्न खेलकुद सामग्री समेत हस्तान्तरण गरे । करिव दुई महिनाअघिको भ्रमणमा विद्यार्थीले खेलकुद सामग्रीको अभाव रहेको भनी राखेको गुनासोलाई सम्बोधन गर्दै उनले क्रिकेट ब्याट, बल र फुटबल लगायतका सामग्री उपलब्ध गराए । ‘त्यतिबेला गरेको प्रतिबद्धताअनुसार आज क्रिकेट ब्याट, बल, फुटबललगायत खेल सामग्री विद्यालयलाई हस्तान्तरण गरेका छौँ । साक्षर प्रदेश घोषणा सम्बन्धी प्रतिवेदन प्रदेश सरकारलाई बुझाइसकिएको छ र यसको प्रगति सन्तोषजनक रहेको जानकारी पाएका छौँ’ उनले भने ।
आफ्नै पूर्वप्रतिवद्धता अनुरूप विद्यार्थीको माग पूरा गर्न पाउँदा खुशी लागेको उनले बताएका हुन् । मधेश प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा गर्ने अभियानका सन्दर्भमा मन्त्री पोखरेलले यसअघि नै प्रतिवेदन सार्वजनिक गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको जानकारी दिए ।
उक्त अभियानको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै उनले यस विषयमा थप समन्वयका लागि प्रदेश प्रमुख तथा सम्बन्धित एकाइ प्रमुखहरूसँग छलफल गर्ने योजना रहेको समेत स्पष्ट पारे । ‘आगामी दिनमा प्रदेशका सम्बन्धित निकाय र पदाधिकारीसँग छलफल गरी यसको कार्यान्वयनको अवस्था थप समीक्षा गर्ने योजना छ । समस्याको पहिचान र समाधान गर्दै चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने उद्देश्यका साथ हामी काम गरिरहेका छौँ । विश्वविद्यालयका लागि जग्गा प्राप्त गरी आफ्नै भवन निर्माण प्रक्रिया सकेसम्म छिटो शुरु गरिनेछ’ उनले भने ।
शिक्षा क्षेत्रमा थुप्रै चुनौतीहरू रहे पनि ती चुनौतीभित्र अवसरहरू खोज्दै सरकार अगाडि बढिरहेको मन्त्री पोखरेलको भनाइ छ ।








