गंगारामको आरोप: ‘रञ्जिता कारबाही गर्नेमात्र अध्यक्ष हुन्’

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद तथा संसदीय दलका नेता गंगाराम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठप्रति गम्भीर आरोप लगाएका छन् ।

उनले श्रेष्ठ पार्टी निर्माण र विस्तारको भन्दा पनि कारबाहीको राजनीतिमा मात्र केन्द्रित रहेको टिप्पणी गरेका छन् ।

श्रेष्ठले चौधरीलाई केन्द्रीय पदाधिकारी र संसदीय दलको नेताबाट हटाउने निर्णय गरेकी थिइन् । त्यसको प्रतिकृयामा चौधरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक प्रतिक्रिया दिएका हुन् ।

‘पार्टी अध्यक्षज्यू, तपाईं पार्टीको उद्देश्य र विधानअनुसार काम गर्नुभएको हो कि केवल जतिबेला पायो त्यतिबेला कारबाही गर्ने अध्यक्ष हुनुभएको हो ?’ उनले लेखेका छन्, ‘जतिबेला पायो, त्यतिबेला कारबाही गरेर पार्टी बन्दैन ।’

चौधरीले पार्टी गठनदेखि दर्ता, विस्तार र संगठन निर्माणसम्म आफू अग्रपंक्तिमा रहेर खटिएको दाबी गरेका छन् ।

‘पार्टी बनाउन रातदिन नभनी खटिएको व्यक्ति म हुँ । पार्टीका लागि धेरै त्याग तपस्या गरेको छु,’ उनले भनेका छन् ।

उनका अनुसार महासचिव पदमा अध्यक्ष श्रेष्ठकै निर्णयमा नियुक्त भएका थिए र महासचिवले बैठक बोलाउने अधिकार पार्टीको अन्तरिम विधानमा उल्लेखित छ ।

चौधरीले संसदीय दलको नेता हटाउने अधिकार अध्यक्षसँग नभएको दाबी गर्दै श्रेष्ठलाई चुनौती दिएका छन्– ‘५१ प्रतिशत सांसदको समर्थन जुटाएर आफैं दलको नेता बन्नुहोस्, मलाई आपत्ति छैन । तर अध्यक्षले नेता हटाउन सक्दैनन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + five =