ज्ञानेन्द्र शाहीले मागे परराष्ट्र मन्त्री राणाको राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको राजीनामा माग गरेका छन् ।
इजरायलमा हमासको बन्धक बनेका नेपाली नागरिक विपिन जोशीको उद्धारमा परराष्ट्र मन्त्रालयले प्रभावकारी पहल गर्न नसकेको भन्दै उनले मन्त्री र मन्त्रालय दुवैको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन् ।
शाहीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका अभिव्यक्तिमा परराष्ट्र मन्त्री देउवा र परराष्ट्र मन्त्रालयका कर्मचारीहरूको आलोचना गर्दै उनीहरूमा कूटनीतिक ज्ञानको अभाव रहेको आरोप लगाएका छन् ।
‘नागरिकको जीवन रक्षा गर्न नसक्ने, दुःखमा परेका नागरिकको घाउमा मल्हम लगाउन नसक्ने परराष्ट्र मन्त्री, आज देउवा राणा र परराष्ट्र मन्त्रालयका कर्मचारीलाई पदमा बसेको कुनै औचित्य छैन,’ शाहीले आफ्नो पोस्टमा लेखेका छन् ।
विशेषगरी विपिन जोशीकी आमा र बहिनीको हालको अवस्थाप्रति सरकार गम्भीर नभएको भन्दै शाहीले असन्तोष व्यक्त गरेका छन् । उनले पीडित परिवारको वेदनाप्रति राज्य जिम्मेवार नभएको र निष्क्रियता देखाएको भन्दै आपत्ति जनाएका छन् ।
‘कामै नगर्ने तथा कूटनीतिक ज्ञान नभएका कर्मचारीहरू पदमा बसिरहनु अर्थहीन छ,’ उनले भनेका छन् ।








