मण्डलामा प्रेमिल नाटक ‘आवर्ती’को मञ्चन सुरु (तस्बिरहरू)

काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘आवर्ती’को मञ्चन सुरु भएको छ ।
गत शुक्रवारदेखि नाटक ‘आवर्ती’को मञ्चन सुरु भएको हो ।
यस नाटकमा नियति र प्रेमबीचको गहिरो द्वन्द्व, रोजाइ अनि सङ्घर्षको जटिल यात्रालाई देखाइएको छ ।
एक रंगमञ्चमा नाटकको अभ्यास गरिरहेका प्रेमिल जोडी स्वप्न र आवर्तिबाट नाटक सुरु हुन्छ । नाटक मञ्चन हुने दिन नजिकिँदै गर्दा आवर्ती केही दिनसम्म देखा पर्दिनन् । त्यसबीच उनले अरू कसैसँग विवाह गर्ने निर्णय लिन्छिन् ।
तर विवाह गरेको लामो समय नबित्दै सडक दुर्घटनामा ती दम्पतीको मृत्यु हुन्छ । तर मृत्यु पश्चात् पनि आफ्नै गन्तव्य र दिशा हुने कुरा नाटकमा देखाइएको छ ।
त्यसोभए के अब मृत्यु पछिको गन्तव्यमा चाहिँ स्वप्न र आवर्ती एक हुन्छन् त ?, यस्तै रोचक कौतुहलताले नाटक भरिएको छ ।
कोषा आर्ट्सको प्रस्तुति र मण्डला थिएटर नेपालको सहकार्यमा तयार भएको यस नाटकलाई सम्राट भुजेलले लेखन तथा निर्देशन गरेका हुन् ।
‘आवर्ती’ नाटक मार्फत अभिनेत्री तथा मोडल गरिमा शर्माले नाटकमा डेब्यू गरेकी छन् । जसमा कलाकारहरू प्रार्थना पाठक, श्रीशेष श्रेष्ठ, चिराग पनेरु र दिपेश गजुरेलको पनि अभिनय रहेको छ ।
यो नाटक हरेक साँझ ५:३० बजे मञ्चन हुनेछ । साथै शनिवार दिउँसो १:३० बजे अतिरिक्त शो मञ्चन हुनेछ ।
हेर्नुहोस् तस्बिरहरू :









