प्रतीक्षित चलचित्र ‘बलिदान’को टिजर सार्वजनिक, संवाद र एक्सनले खिच्यो ध्यान (भिडिओ)

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र ‘बलिदान’को पहिलो टिजर सार्वजनिक भएको छ । निर्देशक सन्तोष सेनको महत्त्वाकांक्षी परियोजनाको रूपमा हेरिएको चलचित्रको टिजरले शक्तिशाली संवाद, दमदार एक्सन र गहिरो भावनात्मक कथावस्तुको संकेत दिएको छ ।

यस वर्षको बडादसैँको फूलपातीमा देशव्यापी प्रदर्शन हुने चलचित्रको टिजरको सुरुवात नै रहस्य र विद्रोहको भावले भरिएको छ । ‘देशको एक हिस्सा बैरीहरूको निशानामा छ, अब यिनीहरूलाई रोक्न असम्भव छ,’ भन्ने संवादसँगै मसाल बोकेर दृढतापूर्वक उभिएका अभिनेता सौगात मल्लको दृश्यले दर्शकमा कौतूहलता जगाउँछ । लगत्तै, राजसी अवतारमा देखिएका हेमन्त बुढाथोकीले ‘बलिदानको अभिनय पूरा भयो’ भन्दै सत्ता र शक्तिको खेलतर्फ संकेत गर्छन् भने अर्पण थापा एक चतुर राजनेताको भूमिकामा प्रस्तुत भएका छन् ।

टिजरको सबैभन्दा प्रभावशाली पक्ष अभिनेत्री ऋचा शर्माको संवाद बनेको छ, जहाँ उनी कालीमाताको मूर्तिअघि आक्रोश पोख्छिन्, ‘जब ती निर्दोषका घाँटी रेटिन्छन्, र ती राक्षसहरू तिमीलाई हेरेर हाँस्छन्, तिमी किन मौन बस्छौ ? के यो धर्तीमा अब त्यस्तो युग पुरुष जन्मिँदैन, जसले ती राक्षसहरूको घाँटी रेटोस् ?’ उनको यो संवादले चलचित्रको कथा अन्यायविरुद्धको लडाइँमा केन्द्रित रहेको स्पष्ट पार्छ ।

‘एक्सन किङ’को उपमासहित टिजरमा प्रवेश गरेका अभिनेता समीर भट्टको प्रस्तुति अर्को मुख्य आकर्षण हो । उनको संवाद, ‘यो आमा न लाचार छ, न त यो आमाको कोख नै खाली छ । यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ,’ ले देशभक्ति र वीरताको भावलाई उत्कर्षमा पुर्‍याउँछ । टिजरमा उनको एक्सन अवतार र द्वन्द्वका दृश्यहरूले दर्शकलाई रोमाञ्चित बनाउँछ ।

टिजर सार्वजनिक गर्दै निर्देशक सेनले ‘बलिदान’लाई केवल चलचित्र नभई हरेक नेपालीको मनमा दबेको विद्रोहको प्रतीकको रूपमा व्याख्या गरेका छन् । उनले भने, ‘तीन वर्षको रगत पसिना, माटोको सुगन्ध र किनारिएका आवाजको पीडाबाट जन्मिएको ‘बलिदान’ अब केवल चलचित्र होइन, यो न्यायको विस्फोट हो ।’

यसअघि सार्वजनिक प्रि-टिजरले नेपालसहित एक दर्जनभन्दा बढी देशमा युट्युब ट्रेन्डिङमा स्थान बनाएर चर्चा कमाएको थियो । ‘आसुसेन फिल्म्स प्रा. लि.’ को ब्यानरमा निर्मित चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्मातामा प्रेम पुरी रहेका छन् । चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी लगायतका कलाकारहरूको अभिनय छ । सार्वजनिक टिजरले नेपाली सिनेमामा ‘बलिदान’ एक साहसी र यादगार चलचित्र बन्ने बलियो आधार प्रस्तुत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 13 =