वार्ताको प्रयासबीच नेतन्याहुको नयाँ शर्त- सबै बन्धक फिर्ता भए मात्र युद्धविराम

काठमाडौँ । इजिप्टको राजधानी कायरोमा गाजा युद्धविरामका लागि पुनः वार्ताको प्रयास भइरहेका बेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो रणनीति परिवर्तनको सङ्केत दिएका छन् । उनले अब युद्ध रोक्ने कुनै पनि सम्झौता बाँकी रहेका सबै बन्धकहरूलाई एकैपटक रिहा गर्ने विषयमा केन्द्रित हुनुपर्ने स्पष्ट पारेका छन् ।

नेतन्याहुको यो भनाइले यसअघि चर्चामा रहेको ६० दिने युद्धविराम र त्यसको बदलामा केही जीवित इजरायली बन्धकहरूलाई मात्रै रिहा गर्ने योजनाबाट इजरायल पछि हटेको देखाउँछ ।

बीबीसीका अनुसार, हमासका नेताहरूको एक प्रतिनिधिमण्डल इजिप्टका अधिकारीहरूसँग प्रारम्भिक वार्ताका लागि कायरो पुगिसकेको छ । मध्यस्थकर्ताहरूले आगामी केही हप्ताभित्रै सम्झौता हुन सक्ने आशा व्यक्त गरेको रिपोर्टहरूमा उल्लेख छ ।

गत महिना इजरायल र हमासबीचको अप्रत्यक्ष वार्ता असफल भएपछि इजरायलले एक विवादास्पद सैन्य योजना घोषणा गरेको थियो । उक्त योजनाअन्तर्गत इजरायलले आफ्नो सैन्य अभियानलाई सम्पूर्ण गाजा पट्टीमा विस्तार गर्ने र करिब २० लाख प्यालेस्टाइनीले शरण लिइरहेका क्षेत्रहरू समेत कब्जा गर्ने चेतावनी दिएको थियो । यही दबाबपूर्ण परिस्थितिका बीच वार्ताको नयाँ ढोका खुलेको हो र नेतन्याहुले सम्पूर्ण बन्धक रिहाइलाई प्रमुख शर्त बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =