भिजिट भिसा दुरुपयोगको छानविन गर्न संसदले पहल नगरेको भन्दै राप्रपाको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले भिजिट भिसा दुरुपयोग प्रकरणको छानविनका लागि संसदले पहल नगरेको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले सरकारको भिजिट सिभा प्रकरणको छानविन रोक्ने सरकारको नियतलाई सघाउने काम संसदबाट समेत भइरहेको भन्दै आपत्ति जनाइन् ।

उनले भिजिट भिसा दुरुपयोग प्रकरणमा गृह मन्त्रालयका उच्चपदस्थ कर्मचारीको समेत संलग्नता रहेको उल्लेख गर्दे उनले उक्त प्रकरणको स्वतन्त्र छानविनका लागि सदनले कुनै पहल नगर्नु दुःखद् भएको बताइन् । ‘प्रतिपक्षी दलहरुले भिजिट भिसाको आवरणमा गृह मन्त्रालयको उच्चस्तरको पदाधिकारीहरुको संलग्नतामा संगठित असुलि गर्ने काम भएको र यसलाई मन्त्रालयले कुनेै न कुनै रुपमा संरक्षण गरेको प्रमाण आएको विषयमा संसदीय उच्चस्तरीय छानविन गर्ने कुरामा यो सदनले कुनैपनि पहल नगर्नु दुःखद् विषय बनेको छ’ उनले भनिन् ।

उनले सरकारले भिजिट भिसा प्रकरणको छानविन गर्नुको सट्टा कुन गृह मन्त्रालयको पालामा कति जना गए भनेर तथ्य मोड्न लागेको आरोप लगाइन् ।

भिजिट भिसा प्रकरणको छानविनको माग गर्दै प्रतिपक्षी दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि आफ्नो कुरा राखेर संसद बहिस्कार गर्दै बाहिरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nine =