त्रिभुवन विमानस्थलमा भनसुनको अन्त्य, आजदेखि भिजिटर पास बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंगलबारदेखि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा भिजिटर पास वितरण पूर्ण रूपमा बन्द गरेको छ । पहुँच र भनसुनका आधारमा पास वितरण हुने गरेको र वास्तविक आवश्यकता भएकाहरूले नपाउने गरेको व्यापक गुनासोपछि विमानस्थल व्यवस्थापनले यो कदम चालेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णयअनुसार मंगलबारदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय टर्मिनल भवनमार्फत वितरण हुँदै आएको भिजिटर पास वितरण बन्द गरिएको व्यहोरा सरोकार भएका सबैमा जानकारीका लागि अनुरोध गरिन्छ ।’

विगतमा, भिजिटर पासको दुरुपयोग बढ्दो थियो । पहुँच भएका व्यक्ति, उच्च पदस्थ कर्मचारी, सुरक्षा निकाय र राजनीतिक व्यक्तित्वहरूबाट भनसुनका आधारमा पास लिनेहरूको संख्या अत्यधिक थियो, जसले गर्दा वास्तविक यात्रुहरूलाई नै समस्या परेको थियो । विमानस्थलका अनुसार, दैनिक करिब ६ हजार यात्रु प्रस्थान गर्नेमा उनीहरूलाई बिदाइ गर्न आउने भिजिटरको संख्या १२ सयसम्म पुग्ने गरेको थियो । यो भीडले गर्दा यात्रुलाई विमानस्थल प्रवेश गर्न, चेक-इन काउन्टरमा पुग्न र सुरक्षा जाँचमा ढिलाइ हुने गरेको थियो, जसले उडान सञ्चालनमा समेत असर पारेको थियो ।

वैकल्पिक व्यवस्था के छ ?
भिजिटर पास बन्द गरिए पनि व्यक्तिगत सहायता आवश्यक पर्ने यात्रुहरूलाई कुनै असुविधा नहोस् भनेर विशेष व्यवस्था मिलाइएको छ । विमानस्थल कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै वृद्धवृद्धा, शारीरिक रूपमा अशक्त, गर्भवती महिला र नाबालक यात्रुका लागि सहायता कक्षको प्रबन्ध गरिएको जनाएको छ ।

महाप्रबन्धक पाण्डेले जानकारी दिएअनुसार, ह्विलचेयरलगायत विशेष सहयोग आवश्यक पर्ने यात्रुहरूका लागि सम्बन्धित वायुसेवा कम्पनीको सहकार्यमा सहजीकरण गरिनेछ । अबदेखि यस्ता यात्रुहरूलाई आवश्यक सम्पूर्ण सहयोग सम्बन्धित एयरलाइन्सले नै उपलब्ध गराउनेछ । साथै, विमानस्थल कार्यालयले यात्रुहरूलाई आफ्नो टिकटमा उल्लेख भएबमोजिम सामानको ‘चेक-इन’ संख्या र अधिकतम तौलको सीमा पालना गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =