दुवै सदनको बैठक आज, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसदका दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (मंगलबार) बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकहरूमा महत्वपूर्ण विधेयकहरू प्रस्तुत हुनेदेखि राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने तथा पूर्वराज्यमन्त्रीको निधनमा शोक प्रस्ताव पारित गर्नेसम्मका कार्यसूची तय भएका छन् ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची रहेको छ । यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

यस्तै, राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे सुरु हुनेछ । उक्त बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ लाई सभासमक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यो विधेयक देशको अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणका लागि महत्वपूर्ण मानिएको छ ।

आज दुवै सदनको साझा कार्यसूचीको रूपमा संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिनेछ । उनको सम्मानमा दुवै सदनमा छुट्टाछुट्टै शोक प्रस्ताव प्रस्तुत गरी पारित गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + fifteen =