देशभर झरी, कहाँ-कहाँ छ भारी वर्षाको खतरा ?

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै आइपुगेकाले देशभर मनसुनी वायु सक्रिय भएको छ । यसको प्रभावले देशभर बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी २४ घण्टामा देशका विभिन्न प्रदेशमा भारी वर्षाको चेतावनी दिएको छ र सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।
महाशाखाका अनुसार मंगलबार बिहानैदेखि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसोपख देशभर सामान्यतया बदली रही पहाडी भूभागका धेरैजसो ठाउँमा र मधेस प्रदेश लगायत तराईका केही स्थानमा मध्यम वर्षाको आकलन गरिएको छ । कोशी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ ।
आज राति मनसुन थप सक्रिय भई देशभर पूर्णतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । विशेषगरी, मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशको पहाडी तथा तराई भूभागका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, गण्डकी प्रदेशको पहाडी र तराई तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्नेछ ।
भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम, र तराई तथा समथर भूभागमा डुबान र कटानको खतरा बढेको छ । वर्षाले गर्दा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत गम्भीर प्रभाव पर्न सक्ने भएकाले महाशाखाले सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन र सम्भावित विपद्बाट बच्न पूर्वतयारीमा रहन आग्रह गरेको छ ।








