गोकर्णेश्वरमा भविष्यका पुरोहितहरूको डुबुल्की (तस्बिरहरू)

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ । यस अवसरमा वैदिक सनातन धर्मावलम्बीहरूले नदी, ताल, तलाउ र पोखरीमा स्नान गरी गुरु पुरोहितबाट रक्षासूत्र बाँधेर र तागाधारीहरूले नयाँ यज्ञोपवीत (जनै) धारण गरेर यो पर्व मनाइरहेका छन् ।

आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गंगासागर तथा देशभरका अन्य मठमन्दिर र पवित्र स्थलहरूमा भक्तजनको घुइँचो लागेको छ । पूर्णिमाका दिन गुरु पुरोहितबाट विधिपूर्वक मन्त्रिएको रक्षासूत्र धारण गर्नाले नकारात्मक तत्त्वबाट सुरक्षा मिल्ने र जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै दिन तागाधारी ब्राह्मण, क्षत्री र वैश्य समुदायका पुरुषहरूले आफ्नो जनै फेर्ने गर्दछन् । यसका लागि एक दिन अघिदेखि नै चोखो-नितो गरी व्रत बस्ने परम्परा छ । आज बिहानै उनीहरूले श्रावणी स्नान गरी जौ, तिल र कुशद्वारा कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिहरूको पूजा तथा तर्पण गर्ने भएकाले यस दिनलाई ‘ऋषि तर्पणी’ पनि भनिन्छ ।

गोकर्णेश्वरमा बटुकहरूको श्रावणी स्नान
यस पावन अवसरमा काठमाडौँको गोकर्णेश्वरस्थित उत्तरबाहिनीमा रहेको कान्तिभैरव गुरुकुलमा पनि विशेष चहलपहल देखिएको छ । गुरुकुलमा अध्ययनरत बटुकहरूले आज बिहानै उत्तरबाहिनीको पवित्र जलमा विधिपूर्वक श्रावणी स्नान गरेका छन् । गाईको गोबर, खरानी, दतिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दै उनीहरूले पुरानो जनै त्यागेर वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै धारण गरेका छन् ।

मन्दिर परिसरमा रहेको यो गुरुकुल विभिन्न चुनौतीका बाबजुद पनि परम्परागत संस्कृत शिक्षाको धरोहरका रूपमा उभिएको छ । मुठी दान र दाताहरूको सहयोगमा सञ्चालित यस गुरुकुलका बटुकहरूले उत्साहका साथ पर्व मनाएको दृश्यले सबैको ध्यान तानेको थियो । उनीहरुको अनुहारमा देखिएको आस्था र समर्पणले हाम्रो सांस्कृतिक परम्पराको जीवन्ततालाई दर्शाउँछ ।

जनै पूर्णिमाका दिन नेवार समुदायले क्वाँटी खाएर यो पर्व मनाउने गर्दछन् । नौ प्रकारका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खानु स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । तराई क्षेत्रमा भने दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर उनीहरूको दीर्घायु र सुस्वास्थ्यको कामना गर्ने चलन छ, जसले भाइ-बहिनीको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + four =