तुर्कमेनिस्तानबाट फर्किए प्रधानमन्त्री (तस्बिरहरु)

काठमाडौं । भूपरिवेष्ठित विकासशील राष्ट्रहरूले भोग्दै आएका साझा चुनौतीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिएर उनी शुक्रबार मध्यरातमा काठमाडौं आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, मन्त्रीहरू, मुख्य सचिव, प्रधानसेनापति लगायत सरकारका उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका थिए । उनको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारद अर्पण गरेको थियो ।

तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा सहभागी भएको यो सम्मेलन भूपरिवेष्ठित राष्ट्रहरूका लागि महत्त्वपूर्ण मञ्च थियो । एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ राष्ट्रका प्रतिनिधिहरूले समुद्रसम्मको पहुँच नहुँदा भोग्नुपरेका समस्याबारे गम्भीर छलफल गरेका थिए ।

सम्मेलन मुख्यतया यी देशहरूले व्यहोर्नुपरेको बोझिलो पारवहन प्रक्रिया, अपर्याप्त पूर्वाधार, बजारको दूरी र त्यसले निम्त्याएको अत्यधिक व्यापारिक लागत घटाउने विषयमा केन्द्रित थियो । यस्ता चुनौतीले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाएको यथार्थलाई सम्बोधन गर्न रणनीतिक साझेदारी र लगानी वृद्धिमा जोड दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षको हैसियतमा प्रधानमन्त्री ओलीले सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गरेका थिए । उनले आफ्नो सम्बोधनमा भूपरिवेष्ठित राष्ट्रहरूलाई विश्वव्यापी व्यापार र कनेक्टिभिटीको सञ्जालमा जोड्न विकसित राष्ट्र र अन्तर्राष्ट्रिय समुदायको अर्थपूर्ण सहयोग आवश्यक रहेको बताएका थिए । यसका साथै, उनले एक उच्चस्तरीय गोलमेच बैठकको सह-अध्यक्षता गर्दै विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख तथा अन्तर्राष्ट्रिय संस्थाका पदाधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए ।

करिब एक दशकअघि सन् २०१४ मा अस्ट्रियाको भियनामा सम्पन्न दोस्रो सम्मेलनले तय गरेका कार्ययोजनाको समीक्षा गर्दै यो सम्मेलनले बदलिँदो विश्वव्यापी परिस्थितिमा दिगो विकासका लक्ष्यहरू हासिल गर्न नयाँ रणनीतिहरू तय गरेको छ ।

सम्मेलनले यी राष्ट्रहरूको पूर्ण क्षमता उजागर गर्न र एक समान र समृद्ध भविष्य निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेको छ । प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, परराष्ट्र सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल लगायत उच्च सरकारी अधिकारी र सञ्चारकर्मी सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =