बाल सुधार गृहको झैझगडा भई अवस्था भयावह भए प्रहरीले हतियारको प्रयोग गर्नसक्ने

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले बाल सुधार गृहमा प्रहरीले हतियारसहित प्रवेश पाउने प्रावधान राख्न लागिएको बताएकी छन् ।

बिहीबारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले बाल सुधार गृहमा प्रहरीले हतियार सहित प्रवेश पाउने प्रावधान राख्न लागिएको गराएकी हुन् ।

यसअघि प्रहरीलाई सुधार गृहभित्र जाँदा हातहतियार लिएर जान पाउने व्यवस्था थिएन । जस्तोसुकै झगडा भएपनि हतियार प्रयोग गर्न पाउँदैन थिए । अब संशोधन हुन लागेको बालबालिका सम्बन्धी अधिकार,२०७५ लाई संशोधन गर्न बनेको विधेयकमा भने भयावह अवस्था आएको खण्डमा नियन्त्रणका लागि अन्तिम अस्त्रको रूपमा हातहतियार चलाउन पाउने व्यवस्था राखिएको बताइन् ।

उनले बाल सुधार गृहमा राखिएका १८ वर्ष पार गरिसकेका व्यक्तिहरूलाई अब नुवाकोटस्थित कारागारमा एउटा ब्लक लिएर सार्न लागिएको बताइन् । उनकाअनुसार उक्त भवनमा २५० जना अटाउनेछन् ।

उनले भनिन् ‘बाल सुधार गृहको सन्दर्भमा हामी धेरै प्रगति पनि गरेका छौँ । बाल सुधार गृहको सम्बन्धमा एउटा ऐन टेबल भएको छ । सदनमा टेबल भएको समितिमा आउँछ नै । १८ वर्ष पार गरिसकेका जो बालबालिका सुधार गृहमा छन्, उनीहरूलाई सेप्रेट गर्नुपर्छ । त्यहाँबाट अर्को ठाउँमा राख्नुपर्छ भन्ने प्रस्ताव छ । अहिले विद्यमान ऐनमा के छ भने बाल सुधार गृहमा प्रहरीहरूले हातहतियार लिएर जान पाइँदैन । उनीहरू भित्र भएका घटनाहरूको मूकदर्शक भएर हेर्ने बाहेक अर्को विकल्प छैन । त्यसको लागि हामीले अवस्था भयावह भयो कुनैपनि नियन्त्रण गर्नसक्ने अवस्था रहेन भने अन्तिम अस्त्रको रूपमा हतियार प्रयोग गर्न सकिने भनेर संशोधनमा परेको छ । नुवाकोटको कारागार भवन जुन छ, त्यसको एउटा ब्लक हामीलाई प्रयोग गर्न भनेर दिनुभएको छ । त्यो २५० जना अट्ने क्षमताको छ । त्यसमा चालु आवमा बजेट पनि विनियोजन गरेका छौँ । छिटै एउटा टोली बनाएर अध्ययन गर्नेछौँ । २५० जनालाई त्यहाँ पठाउनसक्यौँ भने अन्य ठाउँमा रहेको क्लाउडलाई कम गर्नसक्छौँ ।’

सचिव बस्नेतले २५० जनालाई सार्न सके सुधार गृहमा भइरहेको भीडलाई कम गर्न सकिने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =